- ब्रह्मदेव यादव, विराटनगर ४७३ पटक हेरिएको
आइतबार, बैशाख ३१, २०८० समय : १५:४१:२० , २ वर्ष अगाडि
विराटनगरका युवाहरु अर्धनग्न भएर राजनैतिक दलका नेताहरुको सम्पत्ती छानविन गर्न माग गरेका छन् । युवाहरु आइतबार विराटनगरको ट्राफिक चोकमा अर्धनग्न अवस्थामा शक्ति प्रदर्शन गर्दै अकुत सम्पत्ती आर्जन गरेका नेताहरुको सम्पत्ती छानविनगर्न माग गरेका छन् ।
२०४६ साल पछि राजनैतिक दलको उच्च ओहदामा बसेका नेताहरुको सम्पत्ती छानविन गर्न माग गरेका हुन । २०४६ साल पछि राजनैतिकमा लागेका नेताहरु काठमाडौंमा कसरी जग्गा र आलिसान महल खडा गर्न सफल भए त्यसको हिसाब किताब सार्वजनिक गर्न माग गरेका छन् ।
देशमा घटेका ठुला भ्रष्टाचार सम्बन्धी ठुला घटना लाउडा, धमिजा, एनसेल, वाईडबडी, सर्प पाल्ने पैसो, ओम्नी, ललीता निवास, क्यान्टोनमेन्ट जस्ता काण्डमा संलग्न व्यक्तिहरुलाई कारवाही गर्न युवाहरुले सरकार समक्ष माग गरेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी काण्डमा संलग्न राजनैनिक दलका नेताहरुलाई उन्मुक्ती दिन नहुने युवाहरुले सरकारको ध्यानाकर्षण गराएको छ ।
देशको शासन प्रणाली सँगै सरकार नांगिएकोले कानुनी व्यवस्थालाई नियमसंगत ढंगबाट संचालन गर्न सरकारलाई चेतावनी दिने उद्देश्यले अर्धनग्न भएर शक्ति प्रदर्शन गरिएको युवा अभियानकर्मी उत्तम ढुंगेलले बताए । उपभोक्तावादी संस्था पब्लिक फोरम मोरङका अध्यक्ष समेत रहेका ढुंगेलले आइतबार सरकारका विरुद्ध अर्धनग्न भएर शक्ति प्रदर्शन गर्ने नेतृत्व सम्हालेका थिए ।
अर्धनग्न विरोध अभियानमा युवाहरु विराटनगर–१ का अच्युत गिरी, अधिकार कर्मी रामबहादुर दाहाल, उत्तम जोशी, लगायतको सहभागिता रहेको थियो । राजनैतिक दलका नेताहरु विश्वसामु नांगिसकेकोले देशको साखलाई बचाउन युवाहरु सडकमै नागिंएर सरकारलाई खबरदारी गरेको ढुंगेलले बताए ।