- ब्रह्मदेव यादव, विराटनगर ५८० पटक हेरिएको
बिहिबार, बैशाख १४, २०८० समय : १४:५४:५८ , २ वर्ष अगाडि
पूर्वका उद्योगी व्यवसायीहरुले भारतबाट नेपालतर्फ भइरहेको अवैध आयात रोक्न सरकारलाई सुझाव दिएको छ । प्रत्येक दिन ६ करोड भन्दा बढि रकम बराबरको सिमान्त जोगबनी बजारमा भईरहेको व्यापारलाई पूर्वका उद्योगी व्यवसायीले अवैध व्यापार भनेको छ । यसरी भईरहेको अवैध आयात तथा व्यापार पूर्णरुपमा नियन्त्रणमा नआउन्जेलसम्म नेपालको उद्योगी तथा व्यापारी क्षेत्र अगाडी बढ्न नसक्ने पूर्वका उद्योगी व्यवसायीले नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई मौखिक र लिखित रुपमा ज्ञापन पत्र बुझाएका छन् ।
नेपाल सरकार अर्थमन्त्रालयको राजश्व परामर्श समितिको आयोजना तथा मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहजिकरणमा बिहिबार विराटनगरमा भएको आर्थिक बर्ष २०८०–०८१ को बजेट एवं राजश्व निती तर्जुमा सन्दर्भ कोशी प्रदेश स्तरीय अन्तक्रिया कार्यक्रममा उद्योगी व्यवसायीले सरकारलाई यस्तो सुझाव दिएको हो । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले आर्थिक बर्ष २०८०–०८१ को बजेटमा अवैध आयात रोक्ने व्यवस्था गर्न माँग गरे ।
मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नविन रिजालले नेपाल राष्ट्र बैंकले १ बर्ष अघि लिएको गलत नितिको कारण अर्थतन्त्र चैपट भएको बताए । ८ प्रतिशत रहेको बैंकिङ ब्याज कसरी १६ प्रतिशत पुग्यो, यसबाट पनि नेपाल राष्ट्र बैंकको निति गलत रहेको पुष्टी भएको रिजालले बताए । जोगबनीको खुल्ला व्यापार नरोकुन्जेलसम्म नेपाली उद्योग र व्यापार क्षेत्र अगाडी बढ्न नसक्ने रिजालले बताए ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले खुल्ला सिमानाकाका कारण ६० प्रतिशत भन्दा बढि सामान नेपाल तर्फ आयात भईरहेकोले छिमेकी राष्ट्र भारतसँग नेपाल सरकारले समन्व्य गरेर त्यसलाई रोक्नु पर्ने सरकारलाई सुझाव दिए । नेपाल उद्योगी परिसंघ कोशी प्रदेश विराटनगरका अध्यक्ष भीम घिमिरेले जबसम्म खुल्ला सिमानाकाबाट हुने गरेको अवैध आयात रोकिदैन, तबसम्म नेपाली उद्योग फस्टाउन नसक्ने सरकारलाई सुझाव दिए ।
नेपाली उद्योगलाई फस्टाउनको लागि सरकारले आगामी बजेट मार्फत उद्योगी निती बनाउनु पर्ने घिमिरेले सरकारलाई सुझाव दिए । मोरङ व्यापार संघका पूर्वअध्यक्ष शंकरलाल अग्रवाल, उद्योगी देवकीनन्द अग्रवालले अवैध आयात नरोकुन्जेलसम्म सिमान्त क्षेत्रको नेपाली बजार गुल्जार हुन नसक्ने भएकोले सरकारले यस तर्फ ध्यान दिनुपर्ने बताए ।
मोरङ व्यापार संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी उद्योग संगठन मोरङका कार्यसमिति सदस्य पारस लुनिया, महिला उद्यमी युक्ती गोल्छा, मोरङ व्यापार संघका पूर्वअध्यक्ष ताराचन्द खेतानले उद्योगी समस्या समाधान हुनेगरी आगामी बजेट निर्माण गर्न सरकारलाई सुझाव दिए ।कार्यक्रमा अर्थमन्त्री डा. प्रकाश सरण महत, अर्थ सचिव रामप्रसाद घिमिरे, आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनाली र आर्थिक सल्लाहकार डा. पोषराज पाण्डे सहभागी थिए ।
मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजु, पवनकुमार सारडा, खेमचन्द जैन, निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अविनाश बोहरा, उद्योग संगठन मोरङका पूर्वअध्यक्ष मुकेश उपाध्याय, शिवशंकर अग्रवाल, अशोक मुरारकाको कार्यक्रममा सहभागिता रहेको थियो ।