- चिरफार डटकम, विराटनगर ९७१ पटक हेरिएको
सोमबार, बैशाख ११, २०८० समय : १५:२५:४६ , २ वर्ष अगाडि
कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा सोमबारदेखि ५ प्रकारको नयाँ परीक्षण सुरु भएको छ । यस अघि यस रोगको परीक्षणकालागि सर्वसाधारण विराटनगर बाहिर जानुपर्ने बाध्यात्मक अवस्था कामय रहेको थियो । तर अब कोशी प्रदेश सरकारले प्रदेशको राजधानी विराटनगरमै ५ प्रकारको नयाँ परीक्षण शुभारम्भ गरेको हो ।
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले जनस्वास्थ्य प्रयोगशालाले संचालनमा ल्याएको नयाँ परीक्षण सेवाको सोमबार उद्घाटन गरेको छ ।
कोशी प्रदेश सरकार, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवले हेपाटाइटिस बी भाइरल लोड पिसिआर टेष्ट, हेपाटाइतिस सी भाइरल लोड पिसिआर टेष्ट, महिलाहरुको पाठेघरको क्यान्सर एचपीभी भारसको डिएनए पिसिआर टेष्ट, एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रावेवायोलोजी कल्चर सेवाको परीक्षण सुरुभएको बताए ।
नयाँ सेवा सँगै कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले विभिन्न रोग सम्बन्धी परिक्षण गरिरहेको छ । प्रयोगशालाले आर्थिक बर्ष २०७९÷२०८० को चैत्र महिनासम्म ४ करोड रुपैयाँ बराबरको निःशुल्क परीक्षण गरेको जानकारी गराएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा सर्वसाधारणको विभिन्न रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण भई रहेकोले प्रदेश वासीलाई सेवाको सदुपयोग गर्न स्वास्थ्य मन्त्री लिम्बुले सर्वसाधारणलाई आग्रह गरेकी छिन् ।