- चिरफार डटकम, विराटनगर ५६८ पटक हेरिएको
आइतबार, बैशाख ०३, २०८० समय : १५:१६:२० , २ वर्ष अगाडि
विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । विराटनगर महानगरपालिकाको १९ वटै वडामा बसोवास गरी रहेका सर्वसाधारणको बालबालिकाहरुलाई पूर्ण मात्रामा खोप लगाई सकेपछि नयाँ बर्ष २०८० सालको बैशाख ३ गते आईतबार कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।
विराटनगर महानगरपालिका कोशी प्रदेशमा रहेको स्थानिय तह मध्ये पूर्ण खोप सुनिश्चितता गर्ने पहिलो पालिका पनि बनेको छ । विराटनगर महानगरपालिकामा १७५०२ बालबालिकाहरुलाई खोप लगाई सकिएको छ । १७५०२ बालबालिकाहरुमध्ये १५९२ जना बालबालिकाहरु पूर्ण खोप लगाउनबाट छुटेको थियो । र उनिहरुलाई घर घरमै पुगेर स्वास्थ्य कर्मीहरुले खोप लगाई सकेपछि मात्रै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राईले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइरालालाई प्रमाण पत्र प्रदान गरे । र विराटनगर महानगरपालिकामा चुस्तदुरुस्त अभिलेख राख्न जनप्रतिनिधिहरुलाई सुझाव दिए ।
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु, संघिय सरकारका स्वास्थ्य सचिव डा. रोशन पोखरेल, जिल्ला समन्व्य समिति मोरङका अध्यक्ष अजम्बर राई, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्ला निराला कार्की र प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद कोइरालाले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
कार्यक्रममा सहभागि सुनसरी र मोरङका विभिन्न स्थानिय तहका अध्यक्ष, सरकारी उच्चपदस्त पदाधिकारी, स्वास्थ्यकर्मीले विराटनगर महानगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेदर अलिले १५ महिनाभित्र ७ पटकसम्म १३ प्रकारको खोप बालबालिकाहरुलाई अगाईसकेपछि मात्रै खोपको मात्रा पुरा हुने गरेको जानकारी गराए । कार्यक्रममा विराटनगर महानगरपालिकाका १९ वटै वडाका वडाध्यक्षहरुलाई पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाण पत्र प्रदान गरिएको थियो ।