- चिरफार डटकम, विराटनगर ९४८ पटक हेरिएको
बिहिबार, चैत्र १६, २०७९ समय : १६:११:२६ , २ वर्ष अगाडि
नेपाल भारतको सिमान्त क्षेत्र विराटनगर महानगरपालिकाको वडा नं. १८ मा ५ करोड भन्दा बढि रकम बराबरको विकास निर्माणको काम भईरहेको छ । चालु आर्थिक बर्ष २०७९/०८० को असार मसान्त भित्र काम सम्पन्न गर्ने गरी युद्दस्तरमा विकास निर्माणको काम भईरहेको वडा अध्यक्ष जितेन्द्र कुमार साहले जानकारी गराएको छ ।
विराटनगर महानगरपालिकाको १९ वटा मध्ये नेपाल भारतको सिमान्त क्षेत्र १८ नं. वडा विकासमा पछाडी परेको वडा हो । समग्र वडाको विकासका लागि वडाध्यक्ष साहले विराटनगर महानगरपालिकाबाट एकमुष्ट ५ करोड रुपैयाँ बजेट विनियोजन गराएर वडाको विकास निर्माण कार्यलाई अगाडी बढाएको छ ।
मेयर नागेश कोइरालाले महानगरपालिकाको उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्र विकासमा पछाडी परेको गुनासोलाई समाधान गर्नेगरी १८ नं. वडालाई प्राथमिकतामा राखेर ५ करोडभन्दा बढि रकम विनियोजन गरेर विकास निर्माणको कार्यलाई अगाडी बढाएको छ ।
दक्षिणी क्षेत्रको वडा नं. १८ नालाविहिन वडा हो । र विकास निर्माणमा उत्तरी क्षेत्रको तुलनामा निकै नै पछाडी परेको वडा हो । वडाध्यक्ष साहले भनेः तर पनि आफु समग्र वडाको विकासका लागि काम गरिरहेको छु । लगातार ४ महिनाभन्दा बढि समय विराटनगर महानगरपालिका धाएपछि ५ करोड रुपैयाँ ल्याउन सफल भएका छौं । ति रकमले वडामा विकास निर्माणको काम भईरहेको छ ।
वडामा रहेको कच्ची सडकलाई ग्राइभेल र ग्राइभेल सडकलाई कालोपत्रे बनाउने काम भईरहेको छ । यस बाहेक नालाविहीन वडामा नाला निर्माणको काम भईरहेको छ । ५ बर्षभित्र विकासमा पछाडी परेको १८ नं. वडालाई अगाडी बढ्ने गरी विकास निर्माणको काम भईरहेको वडाध्यक्ष साहले बताए ।
वडामा विकास निर्माणको काम सँगै वडाको फोहोर व्यवस्थापनका लागि वडावासीलाई प्लाष्टिकको सामग्री, विद्यार्थीलाई साईकल वितरण र जेहेन्दार विद्यार्थीलाई निःशुल्क शिक्षासहित छात्रवृत्ति प्रदान गर्ने काम भईरहेको वडाध्यक्ष साहले बताए ।