विराटनगरमा एउटै मण्डपबाट ८ जना विद्वानको प्रवचन

  • चिरफार डटकम, विराटनगर ५६१  पटक हेरिएको

मंगलबार, चैत्र ०७, २०७९ समय : १४:०४:३७ , २ वर्ष अगाडि

बुधबारदेखि विराटनगरमा हुन लागेको धार्मिक कार्यक्रममा एउटै मण्डपबाट ७ दिनमा ८ जना विद्वानले प्रवचन दिने कार्यक्रम तय भएको छ । श्रीहरि सत्संग समिति नेपाल केन्द्रिय कार्यालय विराटनगरको आयोजनामा बुधबारदेखि विराटनगर–३ स्थित परोपकार सामुदायिक भवनमा प्रख्यात पण्डित एवं विद्वानहरुले प्रवचन दिने कार्यक्रम तय भएको हो ।

श्रीहरि सत्संग समिति नेपाल केन्द्रिय कार्यालय विराटनगरले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा ९ दिने प्रवचनमा १० हजारभन्दा बढि भक्तजनहरुले प्रवचनमा सहभागिता जनाउने जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा समितिका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरल, विराटनगर च्याप्टर अध्यक्ष श्रवण अग्रवाल, प्रमुख संयोजक शिवरतन जोशी, स्वागतताध्यक्ष बाबुराम न्यौपानेले हिन्दु धर्मलाई प्रचार प्रसार तथा संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले ९ दिने प्रवचनको आयोजना गरिएको बताए । ९ दिने प्रवचन मध्ये २ दिन बालबालिकाहरुबाट गीता पाठ र सुन्दर काण्ड पाठ प्रवचनको कार्यक्रम छ । बाँकी ७ दिन नेपालका प्रख्यात पण्डित र विद्वानहरकको प्रवचनहरुको कार्यक्रम छ ।
प्रवचनको पहिलो दिन चैत्र ८ गते बुधबार २ जना विद्वानले प्रवचन दिने कार्यक्रम छ ।

जगदगुरु बालसन्त मोहनशरण उपाध्याय र विराटनगर स्थित लक्ष्मीनारायण मन्दिरका स्वामी अच्यूत प्रपन्नाचार्यबाट प्रवचन दिने कार्यक्रम तय भएको छ । ९ गते बिहीबार आचार्य नन्दकिशोर भारद्वाज, १० गते शुक्रबार सिद्धस्वरुप दास, १२ स्वामी भागवताचार्य, १३ गते प्रेम थुलुङ्ग, १५ गते विराटनगर स्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी गीता बहन र १६ गते स्वामी रामानुजाचार्यबाट प्रवचनको कार्यक्रम रहेको छ ।

९ दिने प्रवचन कार्यक्रममा विराटनगरका ८४ बर्षमाथिका ६० जना जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । यस्तै विराटनगरका ५० भन्दाबढि मन्दिरका अध्यक्ष र पुजारी गरी १०० जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ । समितिले प्रवचनको दोहरान देशभरीका १० हजारभन्दा बढिका झण्डा वितरण गर्ने कार्यक्रम तय गरेको छ ।

समितिले विराटनगरमा मात्रै ५०० भन्दा बढि घरमा झण्डा वितरण गर्ने कार्यक्रम राखेको छ । समितिले प्रवचन कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न बुधबार बिहान विराटनगरको संसारी माईस्थानबाट कलशयात्रा निकाल्ने कार्यक्रम तय गरेको छ । ५ हजारभन्दा बढि हिन्दु धर्मावलम्बिहरु कलश यात्रामा सहभागिता जनाउने समितिका कोशी प्रदेश अध्यक्ष विधानन्द माझीले जानकारी गराए ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले कलश यात्राको शुभारम्भ गर्ने कार्यक्रम रहेको समितिका विराटनगर च्याप्टर अध्यक्ष शवण अग्रवालले जानकारी गराए । देशभरीबाट प्रवचतमा सहभागिता जनाउने भक्तजनहरुलाई भोजन व्यवस्थापनको व्यवस्था मिलाईएको समितिका राष्ट्रिय अध्यक्ष भीखमचन्द सरलले जानकारी गराए ।