- चिरफार डटकम, विराटनगर ३२९ पटक हेरिएको
सोमबार, फाल्गुण २९, २०७९ समय : १८:५५:४२ , २ वर्ष अगाडि
साइनो स्पोर्टस् क्लब रानी विराटनगरलाई सडन डेथमा पराजित गर्दै सलहेस यूथ क्लब सिरहा मिल्स गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । तेस्रो संकरणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा ५ का विरुद्ध ६ गोल गर्दै सिरहाले सेमिफाइनलको यात्रा तय गरेको हो ।
सडन डेथमा खेलाइएको खेलमा सलहेस यूथ क्लब सिरहाका तर्फबाट यानिक, नविन न्यौपाने, डेनियल, सेन्जियो, निश्चल ठकुरी र टिप्सन राईले गोल गरेका थिए । साइनो स्पोर्टस् क्लब रानीको तर्फबाट असिम राई, संजय धिमाल, शिभम यादव, कोमल खवास र सुमन मगरले गोल गरेका थिए ।
निर्धारित समयमा दुवै टिमको तर्फबाट बराबरी गोल भएपछि सडन डेथको आधारमा खेलको नतिजा निकालिएको थियो । साइनो स्पोर्टस् क्लब रानीको तर्फबाट खेल सुरु भएको १ मिनेटमै संजय धिमालले पहिलो गोल गरेका थिए । विदेशी खेलाडीको दबदवा रहेको सलेस यूथ क्लब सिरहा आक्रमक रुपमा खेल प्रस्तुत गर्दै १८ औं मिनेटमा विदेशी खेलाडी यानिकले गोल फर्काएका थिए ।
मध्यान्तरपछि दुवै टोली कुनै पनि गोल गर्न सकेन । सलहेस यूथ क्लब सिरहाका गोल किप्पर सागर मगर खेलको म्यान अफ दि म्याच घोषित भए । मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ अन्तर्गत सोमबार फुटबल प्रतियोगिताको प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. १२ का वडाध्यक्ष हिरालाल कामत र मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले म्यान अफ दि म्याच घोषित सागर मगललाई पुरस्कार वितरण गरेका थिए ।
मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र विरगंज यूनाईटेड क्लब विरगंज बिच खेल हुनेछ । विराटनगर–१६ स्थित विराटनगर जुटमिलको खेल मैदानमा मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ को खेल भईरहेको छ ।
फागुन २७ गतेदेखि सुरु भएको फुटबल प्रतियोगिता चैत्र ४ गते समापन हुनेछ । प्रतियोगितामा कोशी र मधेश प्रदेशका ८ टिमको सहभागिता रहेको छ । खेलको विजेतालाई २ लाख ११ हजरा र उप विजेतालाई १ लाख ११ हजार नगद सहित ट्रफी प्रदान गर्ने मिल्स गोल्डकप ट्रष्टका कोषाध्यक्ष विष्णु डंगोलले जानकारी गराए ।