- ब्रह्मदेव यादव, विराटनगर ६०७ पटक हेरिएको
सोमबार, फाल्गुण २९, २०७९ समय : १४:३७:५० , २ वर्ष अगाडि
विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाद्वारा ठगिएका सदस्यहरुलाई उजुरी दर्ता गराउन मोरङ प्रहरीले आवहन गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेलले सोमबार पत्रकार सम्मेलन गरेर तुलसी सहकारीद्वारा ठगिएका मोरङ जिल्ला भरीका शेयर सदस्य र बचत कर्ता सदस्यहरुलाई उजुरी दर्ता गराउन आवहन गरेका हुन् ।
मोरङ प्रहरीले तुलसी सहकारी संस्थाका ८ जना संचालक तथा कर्मचरारी विरुद्ध आइतबार ठगी काण्डमा मुद्दादायर गरेको छ । मोरङ प्रहरीका एसपी पोखरेलले तुलसी सहकारीका उपाध्यक्ष अनिता गौतम, सचिव सबिना न्यौपाने, क्षेत्रिय प्रबन्धक मन्दिप खवासलाई पक्राउ गरी ठगी काण्डमा मुद्दा दायर गरिसकेको छ भने फरार ५ जनाको खोजी जारी रहेको जानकारी गराए ।
सहकारीका अध्यक्ष केदारथान शर्मालाई पक्राउ गर्न मोरङ प्रहरी सहित नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रिय ब्यूरो सीबीआईको टोली परिचालन भई सकेको एसपी पोखरेलले बताए । सीबीआईको टोली सँग सहकार्य गरेर मोरङ प्रहरीले तुलसी सहकारीको सम्पूर्ण ठगी काण्डको अनुसन्धान गर्ने एसपी पोखरेलले बताए ।
तुलसी सहकारीले मोरङ जिल्लाबाट मात्रै ४ हजारभन्दा बढि शेयर सदस्य र बचत कर्ता सदस्यहरुबाट करोडौं रुपैयाँ ठगी गरेको छ । आइतबारसम्म मोरङ प्रहरीमा सहकारीद्वारा ठगीएका १२१ जना सदस्यहरुले उजुरी दर्ता गराएको एसपी पोखरेलले बताए ।
उजुरी कर्ताको उजुरी अनुसार १२१ जनाले १२ करोड भन्दा बढि रकम सहकारीमा बचत गरेको तथ्याङ्क बाहिरिएको छ । यो संख्या करोडौंको हाराहारीमा पुग्ने एसपी पोखरेलले बताए ।
मोरङ प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेका तुलसी सहकारीका ३ जनालाई सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।