- ब्रह्ममदेव यादव, विराटनगर ११०८ पटक हेरिएको
शनिबार, फाल्गुण २७, २०७९ समय : २१:०३:३४ , २ वर्ष अगाडि
मिल्स गोल्डकपको पहिलो खेलमा शान्तिनगर फुटबल क्लब सुनसरीलाई पराजित गर्दै ध्रुबतारा स्पोटिङ क्लब झापा सेमिफाइनलमा प्रवेश गरेको छ । सडेन डेथको आधारमा खेलाइएको खेलमा शान्तिनगर फुटबल क्लब सुनसरीलाई ९ का विरुद्ध १० गोल गर्दै धु्रबतारा स्पोटिङ क्लब झापा सेमिफाइनलको यात्रा तय गरेको छ ।
झापाको तर्फबाट रोशन धिमाल, निर्जल बोहरा, प्रविण राई, सन्देश केसी, रोशन तामाङ, ओमप्रकाश तामाङ, राजन धिमाल, निश्चल बस्नेत, विक्रम राई र आयूष लिम्बुले सडेन डेथमा गोल गर्दै टिमलाई सेमिफाइनलमा प्रवेश गराउन सफल भए । झापाका प्रविन राई खेलको म्यानफदी म्याच घोषित भए ।
सुनसरीको तर्फबाट सुसन लामा, विवेक राई, चिरण मगर, धिरेन लिम्बु, धिरेन क्षेत्री, सुजन चौधरी, राकेश गुरुङ, सुसन मगर, विवेश गुरुङ र सुजित चौधरीले गोल गरेका थिए ।
विराटनगर–१६ स्थित विराटनगर जुटमिलको खल मैदानमा खेलाइएको खेलमा निर्धारित समयमा दुवै टिमले २/२ गोल गरेपछि खेल सडेन डेथमा पुगेको थियो । मिल्स गोल्डकप ट्रष्टले आयोजना गरेको तेस्रो संस्करणको फुटबल प्रतियोगितामा कोशी र मधेश प्रदेशका ८ टिमको सहभागिता रहेको छ ।
फागुन २७ गतेदेखि सुरुभएको प्रतियोगिता चैत्र ४ गतेसम्म संचालन हुने छ । विराटनगर महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष उद्धव भुजेलले तेस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता २०७९ को शनिबार भव्य समारोहका बिच उद्घाटन गरेका थिए ।
मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर साहीको अध्यक्षतामा सम्पन्न भएको फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा एन्फाका केन्द्रिय सदस्य दिपेन्द्र धिमाल, विराटनगर गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँ, मिल्स गोल्डकप ट्रष्टका वरिष्ठ उपाध्यक्ष अमृत गुरुङ, नेपाली कांग्रेस कोशी प्रदेशका कोषाध्यक्ष राजेश गुप्ता लगायतका वक्ताहरुले मिल्स गोल्डकप सफलताको शुभकामना व्यक्त गरे ।
आइतबार कोशी प्रदेशको दश सेभेन स्टार फुटबल क्लब धनकुटा र मधेश प्रदेशको प्रतिभा फुटबल क्लब गोलबजार सिराहा बिच खेल हुनेछ । मिल्स गोल्डकप ट्रष्टका अध्यक्ष किशोरबहादुर साही, वरिष्ठ उपाध्यक्ष अमृत गुरुङ, उपाध्यक्ष कुमार मर्हजन, महासचिव हिमालय शेर्पा, कोषाध्यक्ष विष्णु डंगोल, खेल संयोजक किशोर सुब्बा र सहसंयोजक प्रह्लाद बस्नेत मिल्स गोल्डकप फुटबल प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जोडतोडका साथ लागि परेका छन् ।