- ... ११७८ पटक हेरिएको
बुधबार, फाल्गुण १०, २०७९ समय : १५:३५:३३ , २ वर्ष अगाडि
- ब्रह्मदेव यादव, विराटनगर
विराटनगर भन्सार कार्यालयमा एकैपटक ३ अधिकृत सहित १४ जना कर्मचारीहरुको सरुवा भएको छ । विराटनगर भन्सार कार्यालयको इतिहासमा एकैपटक १४ जना कर्मचारीको सरुवा भएको यो नयाँ रेकर्ड हो ।
भखरै सरुवा भएर आएका विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्र राज ढकालले पुरानो अधिकृत र नायब सुब्बा (जाँचकी) हरु सँग काम गर्न सक्ने अवस्था नरहेको अर्थमन्त्रालय र भन्सार विभागमा जानकारी गराएपछि भन्सार विभागले मंगलबार एकैपटक ३ अधिकृत सहित १४ जना कर्मचारीहरुको सरुवा गरेको हो ।
विराटनगर भन्सार कार्यालयका पूर्वभन्सार प्रमुख ताराप्रसाद सापकोटा भन्सार विभागमा तानिएपछि रित्त रहेको विराटनगर भन्सार कार्यालयको प्रमुखमा ढकालको पदस्थापन भएको हो । भन्सार विभागमा कार्यरत ढकाललाई विराटनगर भन्सार कार्यालयको प्रमुखमा सरुवा गरेको छ ।
फागुन ४ गते विहीबारदेखि ढकालले भन्सार प्रमुखको जिम्मेवारी सम्हालेको छ । तर भन्सार कार्यालयमा कार्यरत पुराना अधिकृत र कर्मचारीहरुले राजश्व असुली वृद्धिमा सहयोग नगरेपछि असन्तुष्ट बनेको भन्सार प्रमुख ढकालको सिफारिसमा एकै पटक १४ जना कर्मचारीको सरुवा भएको हो ।
भन्सार अधिकृत नकुल शर्मा, प्रेमप्रसाद सुवेदी र रामचन्द्रप्रसाद ढुंगानाको विराटनगर भन्सार कार्यालयबाट अन्यत्र सरुवा भएको छ । भन्सार कार्यालयका नायबसुब्बा शिवहरी निरौला, युगबचन हुमागाईँ, हरिबहादुर खड्का, उमेश पोखरेल, सुकराम मण्डल, गोविन्दप्रसाद पौडेल, विकास तामाङ, लेखधोज मादेम्बा, जगेन्द्र थापा, सबिना वन र झलकबहादुर बुढाको सरुवा भएको छ ।
विराटनगर भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी सम्हान्न साथ भन्सार प्रमुख ढकालले भन्सार एजेन्ट, भन्सार प्रतिनिधि र उद्योगका प्रतिनिधिहरुसँग भेटघाट गर्दै सामान आयात निर्यात गर्दा प्रज्ञापन पत्र मार्फत राजश्व चुहावट गर्ने कोशिस गरे ५०० प्रतिशतसम्म जरिवाना गर्ने चेतावनी दिएको छ । जसको कारण भन्सार प्रशासन र भन्सार एजेन्ट र प्रतिनिधिहरु बिच सम्बन्ध चिसिएको छ ।
यस्तो अवस्थामा एकासी भन्सार प्रमुख ढकालको सिफारिसमा भन्सार विभागले एकैपटक ३ अधिकृत सहित १४ जना कर्मचारीको सरुवा गरेको छ । र भन्सार प्रमुख ढकालले भन्सारको राजश्व वृद्धि गर्न आफु अनुकुलका अधिकृत र कर्मचारी ल्याउने तयारी गरेको छ । भन्सार प्रमुख ढकालले विराटनगर भन्सार कार्यालयमा राजश्व वृद्धि गर्न ल्याउने इमान्दार कर्मचारीको खोजी जारी राखेको छ ।