- ... ८०२ पटक हेरिएको
शुक्रबार, फाल्गुण ०५, २०७९ समय : १३:५४:०६ , २ वर्ष अगाडि
- ब्रह्मदेव यादव, विराटनगर
विराटनगर स्थित कोशी अस्पतालमा सामाजिक शाखाको सिफारिसमा उपचार सेवा प्रदान गरिएको ५० लाख रुपैयाभन्दा बढि रकम बेरुजु ठहर भएको छ । महालेखा परिक्षकको कार्यालयले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र कोशी अस्पताल विराटनगरलाई मोटो बेरुजु रकमको यथासिद्ध कागजात जुटाउन परिपत्र गरेको छ ।
गत आर्थिक बर्ष २०७८÷०७९ मा सर्वसाधारणले उपचार सेवा लिएको र यसरी उपचार सेवा प्रवाह गर्दा सरकारी कोषबाट कोशी अस्पतालले बुझेको रकम बेरुजु ठहर भएको हो । सरकारले कोशी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम मार्फत उपचार सेवा लिन आउनेको रकम भुक्तानी दिईरहेको छ । तर आर्थिक समस्याका कारण स्वास्थ्य बिमा गराउन नसकेका गरिब, विपन्न अल्पसंख्यलाई सामाजिक शाखाको सिफासिरमा उपचार सेवा प्रदान गरिएको हो । र त्यही उपचार सेवा बापत सरकारले उपलब्ध गराएको रकम महालेखा परिक्षकको कार्यालय बेरुजु ठहर गरिदिएको छ ।
कोशी अस्पतालमा सामाजिक शाखा प्रमुख नुतन भट्टराई र प्रशासन प्रमुख नवराज कोइराला सहायक प्रमुख रहेका छन् । भट्टराई र लुइँटेलको सिफारिसमा सर्वसाधारणले कोशी अस्पतालबाट छुटमा उपचार सेवा लिएका थिए । कोशी अस्पतालका सामाजिक शाखा प्रमुख नुतन भट्टराईले गत आर्थिक बर्ष २०७८/०७९ मा गरिब, बिपन्न, अल्पसंख्य, असाहयले उपचार सेवा लिएको रकम बेरुजु ठहर भएको छ । र अब उपरान्त स्थानिय तहको सिफारीसमा मात्रै सामाजिक शाखाले उपचार सेवामा छुटको व्यवस्था गरिएको बताए ।
कोशी अस्पतालका लेखा अधिकृत बालकृष्ण दंगालले अघिल्लो बर्ष सामाजिक शाखाको सिफारिसमा छुटमा उपचार सेवा लिने सर्वसाधारणको कागजात संकलनको काम भईरहेको बताए । अघिल्लो बर्ष छुटमा उपचार सेवा लिएका सर्वसाधारणको ठेगाना पत्ता लगाएर तिनीहरुबाट गरिबीको प्रमाण–पत्र जुटाउन कोशी अस्पताल प्रशासनलाई फलामको चुरा चपाएजस्तै सरह गाह्रो पर्नेछ । तर लेखा अधिकृत दंगालले अघिल्लो बर्ष उपचार सेवा लिएका बिरामीहरुको गरिबीको प्रमाण–पत्रको कागजात जुटाउन सामाजिक शाखा प्रमुख भट्टराई र उपप्रमुख लुइँटेललाई निर्देशन दिएको छ ।
कोशी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्टेन्ट सह प्रा.डा. रविनराज सिंहले छुटमा उपचार सेवा लिन आउँने सर्वसाधारणको हकमा स्थानिय तहको सिफारीस अनिर्वाय गरिएको बताए ।