“लगानी सम्मेलन र पर्यटन वर्ष प्रति निजी क्षेत्रको प्रतिवद्धता”

  • ब्रह्मदेव यादव, विराटनगर २८८  पटक हेरिएको

शुक्रबार, बैशाख १२, २०८२ समय : १६:४७:५७ , २४ घन्टा अगाडि

कोशी प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ प्रति निजी क्षेत्रले साथ दिने प्रतिवद्धता व्यक्त गरेका छन् । कोशी प्रदेश सरकारले यही वैशाख १८ र १९ गते विराटनगरमा पहिलो लगानी सम्मेलनको आयोजना गर्न गइरहेको छ । २०८२ साललाई कोशी प्रदेश सरकारले १० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ पर्यटन वर्ष मनाइ रहेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले नेपाल कृषि बजार विकास कार्यक्रम सहज विराटनगरको सहयोगमा शुक्रबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती विषयक अन्तर संवाद कार्यक्रममा निजी क्षेत्रले लगानी सम्मेलन र पर्यटन वर्षलाई सफल पार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहित कोशी प्रदेश सरकारका मन्त्री, सचिव, प्रदेश लगानी प्राधिकरणका पदाधिकारी, लगानी कर्ताको अगाडी निजी क्षेत्रले लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ लाई पूर्ण रूपमा सफल बनाउने प्रतिवद्धता व्यक्त गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्र ढकाल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सहित कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले एउटै स्वरमा कोशी प्रदेश सरकारको लगानी सम्मेलन र पर्यटन वर्ष २०८२ लाई सफल पर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै कोशी प्रदेशमा कृषि, उद्योग, व्यापार, पर्यटन, शिक्षा स्वास्थ्य, उर्जा गरी १० वटा क्षेत्रको ६० वटा परियोजनामा लगानी सम्मेलन मार्फत १ खर्ब ५० करोड रुपैयाँ लगानी भित्रीने जानकारी गराए ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले कोशी प्रदेशमा लगानीका लागि आवश्यक क्षेत्रबारे तयार पारेको सामग्री विज्ञ भोजराज पौडेलले प्रस्तुत गरेका थिए । सुनसरी, मोरङ औद्योगिक कोरिडोरलाई व्यवस्थित रूपमा विस्तार गर्नुपर्ने, झापाको बिर्तामोड, सुनसरीको धरान, इटहरी, दुहवी र मोरङको विराटनगरलाई सुविधा सम्पन्न शहर बनाउनु पर्ने, व्यवस्थित सडक मार्ग निर्माण भएको खण्डमा युवा पलायन रोक्न सक्ने भएकोले यस तर्फ काम गर्न सरकारलाई सुझाव दिएको छ ।

कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुमार कार्कीले पहिलो लगानी सम्मेलनबाट मोटो रकम विदेशी लगानी भित्रीन लागेको बताए । लगानीको लागि बाधक रहेको ३० वटा ऐनलाई संघिय सरकारले संशोधन गरिसकेको र ७ वटा ऐनलाई कोशी प्रदेश सरकारले संशोधन गर्न लागेको बताए । लगानी सम्मेलन पछि समृद्ध कोशी प्रदेश र सम्पन्न नेपाल बन्ने मुख्यमन्त्री कार्कीले बताए ।