
- ब्रह्मदेव यादव, विराटनगर २१९ पटक हेरिएको
मंगलबार, बैशाख ०९, २०८२ समय : १५:३१:२९ , ३ घन्टा अगाडि
राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले चैत्र १५ गते काठमाडौँको तिनकुने कोटेश्वर क्षेत्रमा घटेको घटनाको छानबिन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष गोपाल क्षेत्री कटुवाल नेतृत्वको टोलीले मंगलबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बुझेको राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङको ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौँ पठाइ दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङका अध्यक्ष गोपाल क्षेत्री कटुवालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा पूर्व न्यायधिशको अध्यक्षतामा मानव अधिकार आयोग र नागरिक समाज सम्मिलित छानबिन आयोग गठन गरेर तिनकुने घटनाको निश्पक्ष छानबिन गर्नुपर्ने माँग गरेका छन् ।
तिनकुने घटनामा शान्ति पूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकारी माथि दमन गर्ने आदेश दिने गृहमन्त्री रमेश लेखकको राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङले राजीनामा माँग गरेका छन् । घटनाको दमन गर्ने सुरक्षाको लागि परिचालित प्रहरी र प्रशासनिक नेतृत्वलाई निलम्बन, मृतक सविन महर्जन र सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिन ज्ञापनपत्र मार्फत सरकारसँग माँग गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, विश्वमोहन थापा, केन्द्रिय सहप्रवक्ता दिनेश साह, मोरङ सल्लाहकार पवन सुराना, मोरङ प्रवक्ता सञ्जय विक्रम अधिकारी र मोरङका प्रचार प्रसार संयोजक पर्शु सुवेदी ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए । नेता र कार्यकर्ता सहित ज्ञापनपत्र बुझाउन पुगेको र्यालीलाई मोरङ प्रशासनले गेट अगाडि सडकमै रोकेका थिए ।