‘संघिय संसदमा किन उठान भइरहेको छैन आर्थिक क्षेत्रको मुद्दा’

  • चिरफार डटकम, विराटनगर २२३  पटक हेरिएको

आइतबार, बैशाख ०७, २०८२ समय : १४:२८:०० , ४ घन्टा अगाडि

कोशी प्रदेशको निजी क्षेत्रले संघिय सांसदमा आर्थिक क्षेत्रको मुद्दा उठान नभएकै कारण औद्योगिक क्षेत्र धरासाही अवस्थाबाट गुज्री रहेको धारणा राखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग कोशी प्रदेशको निजी क्षेत्रले संघिय संसदमा सांसद मौन बसिदिँदा औद्योगिक क्षेत्रको समस्या जिउँका तिउ रहेको बताए ।

औद्योगिक समस्या समाधान नहुनुमा प्रमुख राजनीतिक दल र तिदलबाट निर्वाचित सांसद रहेको निजी क्षेत्रको आरोप छ । नेकपा माओवादी केन्द्रको मुख्य पत्र हाम्रोमत दैनिकले २२औं वार्षिकोत्सवको अवसरमा आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि प्रचण्ड रहेका थिए ।

कार्यक्रममा सहभागिता जनाएका निजी क्षेत्रले आर्थिक मुद्दामा सबै राजनीतिक दललाई साँझा धारणा बनाएर अगाडी बढ्न सुझाव दिए । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संघिय संसदमा बोल्ने सांसदहरुले ५० प्रतिशत कुरा आर्थिक क्षेत्रको बारेमा उठान गर्नु पर्ने हो । तर सांसदहरुले आर्थिक क्षेत्रको बारेमा बोल्नै नचाहेको कारण औद्योगिक समस्या समाधान हुन नसकेको बताए ।

अध्यक्ष राठीले अब उपरान्त संघिय संसदमा बोल्ने सांसदहरुलाई प्राथमिकताको आधारमा उद्योगको मुद्दा उठान गर्न सुझाव दिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जनआन्दोलन माओवादी जनविद्रोह, मधेश विद्रोह जस्ता आन्दोलनको सामना गरेको निजी क्षेत्रको समस्या जहाँको त्यही रहेको गुनासो व्यक्त गरे ।

औद्योगिक समस्या समाधानका लागि सबै राजनीतिक दललाई साँझा धारणा बनाउन अध्यक्ष सुरानाले सुझाव दिए । नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष एवं संविधान सभा सदस्य पवनकुमार सारडाले आर्थिक क्षेत्र स्थापित नभएसम्म मिडिया क्षेत्र स्थापित हुन नसक्ने बताए ।