एउटै शीर्षकमा तीन तहको सरकारद्वारा कर असुली, तेस्रो कर असुली प्रति विराटनगर भन्सार प्रमुख श्रेष्ठ असन्तुष्ट 

  • ब्रह्मदेव यादव, विराटनगर ५०२  पटक हेरिएको

आइतबार, चैत्र ३०, २०८१ समय : १३:०१:३१ , २ दिन अगाडि

एउटै शीर्षकमा तीन तहको सरकारले कर असुली गरिरहेको छ । पटके कर शीर्षकमा असुली भइरहेको तेस्रो कर नीतिको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले विरोध गरेका छन् । चिरफार डटकम सँग कुरा गर्दै प्रमुख भन्सार अधिकृत श्रेष्ठले एउटै शीर्षकमा असुली भइरहेको तेस्रो कर नीतिको विरोध गरेको बताए ।

भारतबाट नेपाल प्रवेश गरेका भारतीय सवारी साधनमा संघीय सरकार अन्तर्गत विराटनगर भन्सार कार्यालयले पटके कर असुली गरिसकेपछि कोशी प्रदेश सरकार र स्थानीय सरकार विराटनगर महानगरपालिकाले सोही शीर्षकमा पुनः कर असुली गर्न पाउदैन । यसरी असुली भइरहेको कर प्रति मेरो असहमति छ : भन्सार प्रमुख श्रेष्ठले भने ।

त्यसमा पनि विराटनगर भन्सार कार्यालयको यात्रु शाखाको हाता भित्र ब्यारेक र घुम्ती राखेर कोशी प्रदेश सरकार र स्थानीय सरकार विराटनगर महानगरपालिकाले पुनः कर असुली गर्नु हुँदैन । यस विषयलाई लिएर आफूले भन्सार विभागलाई जानकारी गराइसकेको भन्सार प्रमुख श्रेष्ठले बताए । भारतबाट नेपाल भित्रिने भारतीय सवारी साधनमा विराटनगर भन्सार कार्यालयले एक दिनका लागि मोटरसाइकलको २०० र कारको ६०० रुपैयाँ पटके कर असुली गरिरहेका छन् ।

भन्सार कार्यालयको हाता भित्र घुम्ती राखेर स्थानीय सरकार विराटनगर महानगरपालिकाले लामो समयदेखि पटके कर शीर्षकमा मोटरसाइकल र कारबाट २०० रुपैयाँ कर असुली गरिरहेका छन् । चैत २९ गते शुक्रबारदेखि कोशी प्रदेश सरकारले विराटनगर भन्सार कार्यालयको हाता भित्र स्थायी ब्यारेक राखेर भारतीय सवारी साधनबाट ५०० रुपैयाँ पटके कर असुली गर्न सुरु गरेको छ । कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै १० लाख भारतीय पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको छ ।

भारती सवारी साधनमा पर्यटन वर्ष २०८२ को स्टिकर नास्ने नाममा कोशी प्रदेश सरकारले एकीकृत सेवा केन्द्र मार्फत पटके कर शीर्षकमा तेस्रो कर असुली सुरु गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र कोशी प्रदेशका प्रहरी प्रमुख डिआजी राजन अधिकारीले भारतीय सवारी साधनमा पर्यटन वर्ष २०८२ को स्टिकर टास्ने अभियानको शुभारम्भ गरेका थिए ।

कोशी प्रदेश सरकारले संघीय र स्थानीय सरकार सँग कुनै किसिमको सरसल्लाह र छलफल नगरीकन एकै पटक विराटनगर भन्सार कार्यालयको हाता भित्र ब्यारेक राखेर यातायात व्यवस्था कार्यालयको कर्मचारी र कोशी प्रदेश प्रहरी कार्यालयको प्रहरी राखेर पटके कर बापत ५०० रुपैयाँ असुली गर्न थालेपछि त्यसको चौतफी विरोध भइरहेको छ ।