
- ब्रह्मदेव यादव, विराटनगर ४३४ पटक हेरिएको
शुक्रबार, चैत्र २८, २०८१ समय : १३:४३:१५ , ३ दिन अगाडि
तेह्रथुम जिल्लाको लाँलिगुरास नगरपालिकाको वडा नं. २ स्थित बसन्तपुर बजार क्षेत्रको प्रगति टोलमा बिलमेटे होमस्टे सञ्चालन भइरहेको छ । देवीमाया गुरुङको नेतृत्वमा ७ जना महिलाहरूले सञ्चालन गरिरहेको बिलमेटे होमस्टेले प्रत्येक दिन ६० देखि ७० जना विदेशी र स्वदेशी पर्यटकहरूलाई सस्तो र सुलभ दररेटमा खान र बस्ने व्यवस्था गरिरहेका छन् ।
सामाजिक संघ संस्थाको भवन र मठ मन्दिरमा सञ्चालन हुने गरेको धर्मशालाको अवधारणामा सामूहिक होमस्टे सञ्चालन भइरहेको छ । एउटै भुइतल्ले भवनको ३ कोठामा बिलमेटे होमस्टे सञ्चालनमा रहेको छ । भुईँमा ओच्छान लगाइएको जस्तै प्रत्येक कोठामा खाटलाई एकै ठाउमा जोडेर ओछ्यान लगाइन्छ । जोडिएको खाटको ओछ्यानमा पर्यटक मिलेर सुत्नुपर्ने अवस्था छ ।
पुरुष र महिलाका लागि बेग्ला बेग्लै कोठामा सुत्ने व्यवस्था मिलाइन्छ । विवाहित दम्पत्ती, श्रीमान् श्रीमती वा पुरुष र महिला साथी बेग्लाबेग्लै कोठामा सुत्न चाहेको खण्डमा सामूहिक होमस्टेका सञ्चालिकाले प्रत्येक घर घरमा पाहुनाका लागि छुट्टाइएको एउटा कोठामा सुत्ने व्यवस्था मिलाइन्छ । जुन कोठामा सुतेबापत सामूहिक होमस्टेमा सुते भन्दा बढी रकम तिर्नुपर्ने अवस्था छ । होमस्टेमा वास बस्न पुग्ने जो कोही पर्यटकले होमस्टेको सामूहिक भान्सा घरमा खाना खानु पर्ने व्यवस्था छ ।
होमस्टेको खाना सस्तो र स्वादिलो छ । स्थानीय उत्पादनलाई खाना र नास्ताको रूपमा खुवाउने प्रचलन छ । सादा खाना खाए बापत रु. २००, बोइलर कुखुराको मासु सहितको खाना खाए बापत रु. ३०० र लोकल कुखुरा सहितको खाना खाए बापत रु. ३५० रुपैयाँ तिर्नुपर्ने हुन्छ । ८० देखि १ सय रुपैयाँमा कोदोको रोटी, गुन्द्रुक साधेको अचार, भुटेको मकै र चिया नास्ता खाने व्यवस्था छ । सस्तो र सुलभ दर रेटमा स्थानीय उत्पादन मदिरा पर्यटकले सेवन गर्न पाउँछन् ।
जुन विदेशी ब्राण्डको मदिरा भन्दा सस्तो छ । होमस्टेमा सुते बापत एक जनाले २०० रुपैयाँ र विवाहित वा युगल जोडीले बेग्लै कोठामा सुत्न चाहेको खण्डमा ५०० रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । मंसिर र पुसमा वसन्तपुरको तिनजुरे मिल्के जलजले क्षेत्रमा हिउँ परेको बेला काठमाडौँबाट बढी पर्यटक आउँछन् ।
चैत र वैशाखमा तिनजुरे क्षेत्रमा लालिगुँरास फुलेको बेला नेपाली सहित भारतीय पर्यटक बढी मात्रामा आएको बेला सामूहिक होमस्टे भरिभराउन हुँदा राम्रो आम्दानी हुने गरेको सञ्चालिका देवीमाया गुरुङले बताइन । अन्य सामान्य अवस्थामा स्कुल र कलेजका विद्यार्थी शैक्षिक भ्रमणका लागि घुम्न आउँदा होमस्टे सञ्चालनबाट खाना लाउनको समस्या नरहेको सञ्चालिका गुरुङको भनाइ छ । होमस्टेमा पर्यटक आएको बेला एकाबिहान आलोपालो प्रणाली अनुसार गाउँका महिला बोइलर र लोकल कुखुरा सहित तरकारी बोकेर होमस्टे पुग्छन् ।
पर्यटकका लागि अर्डर अनुसारको खाना तयार गरेर खुवाउँछन् । र घर फर्किन्छन् । साँझपख पुनः कुखुरा तराकारी बोकेर होमस्टे पुग्छन् । र पर्यटकको लागि अर्डर अनुसारको खाना पकाउने र खुवाउने परम्परा नै रहेको छ । स्थानीय कमला गुरुङ वर्षौँदेखि पर्यटकलाई खाना बनाएर खुवाउँदा खुसी लाग्ने गरेको बताइन । उनले दिनभरि घरमा बसेर समय खेर फाल्नु भन्दा होमस्टे सञ्चालन गर्दा समय खेर नजाने र आम्दानी पनि हुने गरेकोले आफू उत्साहित रहेको बताए । कोशी प्रदेश सरकारले २०८२ लाई पर्यटन वर्ष मनाइरहँदा वसन्तुपुरको सामूहिक होमस्टेले अपेक्षा गरे भन्दा बढी पर्यटक भित्र्याउने आशा गरेका छन् ।