
- ब्रह्मदेव यादव, विराटनगर ४५७ पटक हेरिएको
बिहिबार, चैत्र २७, २०८१ समय : १३:३०:४२ , ४ दिन अगाडि
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संसददेखि सडकसम्म उद्योगी समस्या समाधानका लागि आवाज उठाउने उद्योगी प्रतिनिधि मण्डलसँग प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौँमा उद्योग संगठन मोरङको प्रतिनिधि मण्डलसँग भेटघाट गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र उपाध्यक्ष विपिन काबरा नेतृत्वको प्रतिनिधि मण्डलको टोली बिहीबार काठमाडौँमा प्रचण्डसँग भेटघाट गरेका छन् ।
उद्योग संगठन मोरङको प्रतिनिधि मण्डल प्रचण्डसँग भेटघाट गरिरहँदा नेकपा माओवादी केन्द्रका सङ्घीय सांसद अमनलाल मोदी साथमै रहेका थिए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट उद्योग मैत्री बनाउन र विद्युतीय संकट समस्या समाधानका लागि राजनीतिक दलबिच साँझा धारणा बनाउन सुझाव दिएका थिए ।
जवाफमा प्रचण्डले उद्योग मैत्री बजेट निर्माण र विद्युत संकट समस्या समाधानका लागि आफु संसददेखि सडकसम्म उद्योगीकै पक्षमा रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि बजेट निर्माणको तयारी गरिरहँदा कोशी प्रदेशको उद्योगी प्रतिनिधि मण्डल काठमाडौँ पुगेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिल सारडा, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन काबरा नेतृत्वको उद्योगी प्रतिनिधि मण्डल बुधबार काठमाडौँमा नेपाल सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग भेटघाट गरेर उद्योग मैत्री बजेट निर्माण गर्न सुझाव दिएका थिए ।