
- ब्रह्मदेव यादव, विराटनगर २४० पटक हेरिएको
बिहिबार, चैत्र २७, २०८१ समय : ११:५७:४३ , ४ दिन अगाडि
कोशी प्रदेश सरकारले भारतबाट धार्मिक पर्यटक भित्र्याउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले भारतको विहार, उत्तर प्रदेश, सिक्किम र पश्चिम बंगालको महत्त्वपूर्ण शक्तिपिठ सँग भगिनी सम्बन्ध कायम गरेर धार्मिक पर्यटक भित्र्याउने तयारी गरिएको पर्यटन वर्ष २०८२ को शुभारम्भ समारोहमा जानकारी गराएको छ ।
कोशी प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेर १० लाख पर्यटक भित्र्याउने अपेक्षा गर्दै पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेको छ ।
नेपाल सरकारका उपप्रधान एवं सहरी विकाश मन्त्री प्रकाशमान सिंह श्रेष्ठ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत २७ गते बुधबार तेह्रथुम जिल्लाको तीन जुरे मिल्के जलजलेमा पर्यटन वर्ष २०८२ को शुभारम्भ गरेका छन् ।
तेह्रथुमको तिनजुरे स्थित आर.आर. गार्डेनमा कोशी प्रदेश सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को शुभारम्भ समारोहमा हजारौँ स्थानीयवासी सहभागी थिए ।
कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सरकारका मन्त्री, सङ्घीय सरकारका मन्त्री, सङ्घीय र प्रदेश सरकारका उच्च पद श्रेणीका कर्मचारी, पर्यटन व्यवसायी र भारतबाट आएका पाहुनाहरूको सहभागिता रहेको थियो ।
कोशी प्रदेश सरकारले प्रदेशको हसिना सिमसार, बर्जु ताल, नाम्जे, ध्वजे डाँडा, मैयुङ डाँडा, साल्पा पोखरी, गुफा पोखरी, ह्यातुङ्ग झरना, रुपाकोटा डाँडा, रौता पोखरीलाई पर्यटकीय स्थलको रूपमा चित्रण गरेका छन् ।