वक्फ बिल विरुद्ध भारतमा प्रदर्शन, जेडीयूबाट मुस्लिम नेताको राजीनामा

  • ब्रह्मदेव यादव, विराटनगर २१९  पटक हेरिएको

शुक्रबार, चैत्र २१, २०८१ समय : १७:००:१३ , ३ दिन अगाडि

लोकसभा र राज्य सभाबाट पास भइसकेको वक्फ बिलका विरुद्ध शुक्रवार भारतमा प्रदर्शन भएको छ । भारतको गुजरात, उत्तर प्रदेश, पश्चिम बङ्गाल, विहार लगायतका राज्यमा शुक्रवार एक साथ वक्फ विलका विरुद्ध मुस्लिम समुदाय सडकमा उत्रिएका छन् । र सरकारको विरोध गरिरहेका छन् ।

भारतको विहार राज्य स्थित जनता दल यूनाइटेड (जेडीयू) मा आवद्ध मुस्लिम नेताहरूले राजीनामा दिएका छन् । भारतको विहार राज्यमा जेडीयू बलियो राजनीतिक दल हो ।

जुन राजनीतिक दलको तर्फबाट २० वर्षदेखि नितिश कुमार विहारको मुख्यमन्त्री रहेका छन् । भारतीय जनता पार्टी (बिजेपी) सँग सहकार्य गरेर विहारमा सरकार चलाइ रहेका मुख्यमन्त्री नितिश कुमारले मुस्लिम समुदायको हितमा नरहेको वक्फ बिललाई समर्थन गरेका छन् ।

वक्फ बिललाई समर्थन गरे लगत्तै जेडीयूमा रहेका मुस्लिम नेताहरू पालैपालो गरेर राजीनामा दिन थालेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मिलीजुली सरकारले ल्याएको वक्फ बिल बुधवार लोकसभा र बिहीवार राजसभाबाट पारित भइसकेका छन् ।

जुन बिल प्रति भारतको प्रमुख प्रतिपक्ष राजनीति दल कांग्रेस आइ, समाजवादी पार्टी, तृष्णमुल कांगेस (टीएमसी), राष्ट्रिय जनता दल, जनता दल, डीएमके र आपले विरोध गरेका छन् । भन्ने भारतीय सत्ता रुढ राजनीति दल विजेपी, नितिश कुमारको जेडीयू, चिराग पासवानको लोजपा (आर), जितन राम माझीको (हम) र चन्द्र बाबु नायडुको टीडीपीले समर्थन गरेका छन् ।

लोक सभा र राज्य सभाबाट वक्फ बिल पास भए लगत्तै जेडीयूका चार जना मुस्लिम नेताहरूले राजीनामा दिएका छन् । यसरी राजीनामा दिनेहरूमा जेडीयूका वरिष्ठ नेता डा. मोहमद कासिम अन्सारी, मो. नवाज मलिक रहेका छन् । भारतको विहार राज्यमा यही वर्ष (२०२५) को अन्ततिर विधान सभाको चुनाव हुन गइरहेको छ ।

वक्फ बिल प्रति मुस्लिम नेताहरू असन्तुष्टि जनाउँदै पार्टी छोड्न थालेपछि नितिश कुमार कमजोर अवस्थामा पुगेको आकलन गर्न थालिएको छ । सधैँ हिन्दु मुस्लिमलाई साथ लिएर हिँड्ने जेडीयूले यस पटक मुस्लिमको साथ छोडेर मुस्लिम समुदायको हक अधिकार विरुद्ध रहेको वक्फ विललाई समर्थन जनाएका छन् । यसको फाइदा अन्य पार्टीले उठाउने अपेक्षा गरिएको छ ।