ढाका महोत्सवमा महिलाको आवाज “महिला कमाउने भयो भने मात्रै देश अगाडि बढ्छ”

  • ब्रह्ममदेव यादव, विराटनगर ३५१  पटक हेरिएको

शनिबार, चैत्र ०८, २०८१ समय : १७:०१:४३ , ३ हप्ता अगाडि

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको ढाका महोत्सवमा सहभागी वक्ताहरूले महिला कमाउने भयो भने मात्रै देश अगाडि बढ्ने धारणा राखेका छन् ।

ढाका महोत्सवको तेस्रो र अन्तिम दिन नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले आयोजना गरेको आर्थिक सबलीकरणमा महिला उद्यमशीलता सम्भावना र चुनौती विषयक बहस तथा छलफल कार्यक्रममा सहभागी सरकारी महिला अधिकारी र महिला उद्यमीहरूले महिला कमाउने भयो भने मात्रै देश अगाडि बढ्ने धारणा राखेका छन् ।

बहस तथा छलफल कार्यक्रममा महिलालाई कमाउने बनाउन राज्यको जिम्मेवारी रहेकोले महिलालाई प्रविधि मैत्री सहित दक्ष नागरिक बनाउनका लागि राज्यको लगानी आवश्यक रहेकोमा जोड दिएका छन् । कोशी प्रदेशमा ढाका उद्योग सञ्चालन गरिरहेकी निरु ढाका उद्योग उर्लाबारी मोरङका सञ्चालिका निर्मला चौहानले ढाका उद्योगका लागि चाहिने कच्चा पदार्थ धागोमा तेस्रो कर नीति लागु भएको कारण अन्य कपडाको तुलनामा ढाका कपडा महँगो रहेको बताइन । ढाका कपडा महँगो हुनुमा राज्यको कर नीति जबाफदेही रहेको चौहानले बताइन ।

सरकारले ढाका उद्योगलाई दिइरहेको अनुदान रकम कटौती गरेकोले उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको चौहानले बताइन । कोशी प्रदेश  सरकार सामाजिक विकास मन्त्रालयका महिला अधिकारी दुर्गा बरालले प्रदेश र स्थानीय तहमा ढाका कपडालाई राष्ट्रिय पोसाक बनाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत व्यवस्था गर्न लागिएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ढाका महोत्सवको उद्घाटन गर्दै कोशी प्रदेशमा ढाकाको कपडालाई राष्ट्रिय पोसाक बनाउने आश्वासन दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेशमा सञ्चालन भइरहेको समग्र ढाका उद्योगको उत्पादन बढाउन र त्यहाँ कार्यरत मजदुरलाई दक्ष विशेषज्ञ मार्फत तालिमको आवश्यकता रहेको बताए ।

विराटनगरमा जारी ३ दिने ढाका महोत्सवमा व्यवसायीले २५ देखि ३० लाख रुपैयाँ बराबरको ढाका कपडा विक्री गरेको अध्यक्ष राउतले बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिले विराटनगर स्थित जैन भवनको प्राङ्गणमा चैत ७ देखि ९ गतेसम्म ढाका महोत्सव २०८१ को आयोजना गरेका थिए । जुन ढाका महोत्सव शनिवार सकिएको छ ।