
- ब्रह्मदेव यादव, विराटनगर २९१ पटक हेरिएको
बिहिबार, चैत्र ०६, २०८१ समय : १६:४६:४४ , ३ हप्ता अगाडि
विराटनगरमा ढाका महोत्सव सुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार विराटनगरमा ढाका महोत्सवको उद्घाटन गरेका छन् । विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथ सभा भवनको प्राङ्गणमा ढाका महोत्सव सुरु भएको हो । ढाका महोत्सवमा कोशी प्रदेश भरीका ३० वटा ढाका उद्योगको सहभागिता रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समितिले ढाका महोत्सवको आयोजना गरेका छन् । चैत ७ गते बिहीबारदेखि सुरु भएको ढाका महोत्सवको ९ गते शनिबार समापन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट मार्फत नै कोशी प्रदेशको ढाका उद्योगलाई अगाडि बढाउने गरी बजेट विनियोजन गर्ने बताए । तर त्यसका लागि ढाका उद्योगहरूले झेलिरहेको समस्याको बारेमा राय सुझाव माग गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले प्रत्येक वर्ष ढाका महोत्सवलाई निरन्तरता दिने बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको महिला उद्यम समितिका सभापति सरु केसीले कोशी प्रदेशमा ढाका उद्योग संचालन गरिरहेका महिला उद्यमीलाई नेपाल सहित अन्तर्राष्ट्रिय स्तरमा बजार उपलब्ध गराएर स्थापित गराउने उद्देश्यका साथ ढाका महोत्सवको आयोजना गरिएको बताइन ।
कोशी प्रदेशका उपसभामुख श्रृजना दनुवार, कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिका महिला विभाग प्रमुख कमला श्रेष्ठ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले ढाका उद्योगलाई संरक्षण, सवद्र्धन र बजारीकरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको ढाका महोत्सवले उपलब्धि हासिल गरोस् भन्ने शुभकामना व्यक्त गरेका थिए ।