
- ब्रह्मदेव यादव, विराटनगर ३९८ पटक हेरिएको
बिहिबार, चैत्र ०६, २०८१ समय : १६:४४:५३ , ३ हप्ता अगाडि
नेपाल विद्यार्थी संघको गढ मानिने विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) ले जित निकालेका छन् । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको संस्थापन पक्ष पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र संस्थापन इतर पक्ष संघिय सांसद डा. शेखर कोइराला समूहले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा बेग्लाबेग्लै उम्मेदवार उतारेपछि त्यसको फाइदा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले उठाएका छन् ।
नेपाल विद्यार्थीसंघको केन्द्रीय समितिले संस्थापन पक्षधर देउवा समूहका उम्मेदवारलाई आधिकारिकता प्रदान गरेका थिए । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अखिल (क्रान्तिकारी) का रोहित यादवले सभापति पदमा जित निकालेका छन् । नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार प्रज्ज्वल बिष्टलाई ४३ मतको अन्तरले पराजित गरेर अखिल (क्रान्तिकारी) का यादवले जित निकालेका हुन् ।
जबकी नेपाल विद्यार्थी संघ डा. शेखर कोइराला समूहका योगराज दाहालले सभापति पदमा ६० मत प्राप्त गरेका थिए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल र भीम पराजुली तथा नेपाली कांग्रेस मोरङका उपसभापति एवं विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी यूनियनको चुनावलाई महत्वका साथ लिएका थिए । यद्यपि नेताहरूको केही चलेन र नेपाल विद्यार्थी संघका आधिकारिक उम्मेदवारले हार बेहोरेका छन् ।
नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवारलाई डा. कोइराला समूहका योगराज दाहालको समूहले हराइ दिएका छन् । डा. कोइराला समूहका दाहालले सभापति पदमा ६० मत नकाटेको भए नेविसंघका आधिकारिक उम्मेदवार बिष्टको जित पक्का थियो । अखिल (क्रान्तिकारी) ले विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस संगै डिग्री क्याम्पस र नर्सिङ क्याम्पसमा पनि जित निकालेका छन् ।
अखिल (क्रान्तिकारी) को तर्फबाट डिग्री क्याम्पसको सभापतिमा प्रितम साह र नर्सिङ क्याम्पसको सभापतिमा रोहित ताजपुरीया निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रले २०८४ को संसदिय निर्वाचनमा २०६४ को परिणाम दोहोराउने मात्रै होइन त्यो भन्दा बढी सिट जित्ने दाबी स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचनको परिणामले साबित गरिदिएका छन् ।