
- ब्रह्मदेव यादव, विराटनगर ३६४ पटक हेरिएको
बुधबार, चैत्र ०५, २०८१ समय : १३:१९:४२ , ३ हप्ता अगाडि
मंगलबारदेखि विराटनगरमा धार्मिक कार्यक्रम रासलीला सुरु भएको छ । भगवान् श्री राधाकृष्णको जीवनशैलीमा आधारित रासलीला कार्यक्रम मञ्चन गर्न भारतको वृन्दावनबाट २१ जना कलाकारहरूको टोली विराटनगरमा रहेका छन् । कलाकारहरूले प्रत्येक साँझ ६ देखि राती ९ बजेसम्म रासलीला कार्यक्रम मञ्चन गर्ने गरेका छन् ।
श्री हरिसत्सङ समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले रासलीला कार्यक्रमको आयोजना गरेका छन् । विराटनगरको अतिथि सदनमा रासलीला कार्यक्रम भइरहेका छन् । चैत ५ गते मंगलबारदेखि सुरु भएको रासलीला कार्यक्रमको ९ गते शनिबार समापन हुनेछ । श्री हरिसत्सङ समिति नेपालले कोशी प्रदेश उपाध्यक्ष सुन, चाँदी व्यवसायी एवं वरिष्ठ समाजसेवी महेशकुमार साह (स्वर्णकार) लाई रासलीला आयोजक समितिको संयोजकको जिम्मेवारीमा उतारेका छन् ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष एवं उद्योगी घनश्याम काबरालाई सह-संयोजकको जिम्मेवारी दिइएको छ । व्यवसायी स्वर्णकारको संयोजकत्वमा ५ सय ५ सदस्य मूल आयोजक समिति गठन गरेर रासलीला कार्यक्रमलाई भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न गर्न आयोजक समिति जोडतोडका साथ काम गरिरहेका छन् ।
श्री हरिसत्सङ समिति नेपालका अध्यक्ष भिखमचन्द सरल भारतको वृन्दावनमा सिमित रहेको रासलीलाको कार्यक्रमलाई नेपालसम्म ल्याउने प्रयास गरिएकोले सम्पूर्ण विराटनगरवासीले यसको लाभ प्राप्त गर्नुपर्ने धारणा राखेका छन् । भारतको हैदरावादको धार्मिक गुरु रामानुज चिन्न जियरस्वामीको उपस्थितिमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार रासलीला कार्यक्रमको शुभारम्भ गरेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद धार्मिक व्यक्तित्व भीम पराजुली रासलीलाको शुभारम्भ कार्यक्रममा अतिथिको रूपमा सहभागी थिए । विराटनगर स्थित अतिथि सदनको राधा मण्डपमा रासलीलाको सम्पूर्ण कार्यक्रम सञ्चालन भइरहेका छन् ।
प्रत्येक साँझ सुरुमा आधा घण्टासम्म मारवाडी, थारु, मैथिली र सन्थाल जातिको सांस्कृतिक कार्यक्रम सञ्चालन हुन्छ । त्यसपछि रासलीलाको कार्यक्रम सञ्चालन हुने गरेको संयोजक स्वर्णकारले बताए । ५ दिनमा १५ हजार भन्दा बढी भक्तजनहरूले धार्मिक कार्यक्रम रासलीलाको अवलोकन गर्ने संयोजक संयोजक स्वर्णकारले बताए ।