“रासलीला कार्यक्रम हेर्न भक्तजन उत्साहित छन्”

  • ब्रह्मदेव यादव, विराटनगर ५२६  पटक हेरिएको

सोमबार, चैत्र ०३, २०८१ समय : १३:५५:०० , ३ हप्ता अगाडि

धार्मिक कार्यक्रम रासलीलाका संयोजक महेशकुमार स्वर्णकारले रासलीला कार्यक्रम हेर्न भक्तजन उत्साहित रहेको बताएका छन् । ५ दिनमा १५ हजार भन्दा बढी भक्तजनहरूले रासलीला कार्यक्रमको अवलोकन गर्ने स्वर्णकारको भनाई छ । जुन कार्यक्रमको युद्धस्तरमा तयारी भइरहेको स्वर्णकारले बताए ।

श्रीहरि सत्संग समिति नेपालको केन्द्रीय कार्यालय विराटनगरले यही चैत ५ देखि ९ गतेसम्म विराटनगरको अतिथि सदनमा रासलीला कार्यक्रम आयोजना गरेका छन् ।

विराटनगर स्थित अतिथि सदनको राधा मण्डपमा रासलीलाको सबै कार्यक्रम सञ्चालन हुने छ । भगवान् श्री राधाकृष्णको जीवन शैलीमा आधारित रासलीला कार्यक्रम मञ्चन गर्न भारतको वृन्दावनबाट २१ जना कलाकारहरूको टोली सोमबार विराटनगर आइपुगेका छन् ।

रासलीला कार्यक्रमका कलाकारहरूलाई अतिथि सदनमा खाने र बस्ने व्यवस्था मिलाइएको संयोजक स्वर्णकारले बताए । भारतको हैदरवादबाट कार्यक्रममा सहभागिता जनाउन रामानुज चिन्नजिअर स्वामी विराटनगर आइपुगेका छन् । स्वामी चिन्नजियरको सानिध्यतामा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले चैत ५ गते मङ्गलवार साँझ विराटनगरको अतिथि सदनमा रासलीला कार्यक्रमको शुभारम्भ गर्ने छन् ।

यस अघि मङ्गलवार बिहान विराटनगरमा शोभा यात्रा निकालिने छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले रासलीला कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । अतिथि सदनमा प्रत्येक दिन साँझ ६ देखि ९ बजेसम्म रासलीलाको कार्यक्रम सञ्चालन हुनेछ ।

प्रत्येक दिन सुरुमा आधा घण्टासम्म मारवाडी, थारु, मैथिली र सन्थाल समुदायको सांस्कृतिक कार्यक्रम रहने छ । त्यसपछि अढाई घण्टासम्म रासलीलाको कार्यक्रम चल्ने संयोजक स्वर्णकारले बताए ।