विराटनगरमा चैत ५ गतेदेखि रासलीला

  • ब्रह्मदेव यादव, विराटनगर ६२३  पटक हेरिएको

आइतबार, चैत्र ०२, २०८१ समय : १३:३२:२८ , ४ हप्ता अगाडि

यही चैत ५ गतेदेखि विराटनगरमा रासलीलाको आयोजना गर्ने तयारी पुरा भएको छ । श्रीहरि सत्संग समिति नेपालको आयोजनामा रासलीला कार्यक्रम आयोजना हुन लागेको हो । भारतको बृन्दावनबाट आउन लागेका २१ जना कलाकारहरूको टोलीले राधाकृष्णले बिताएको जीवन शैलीमा आधारित कथा वस्तुलाई समेटिएर रासलीला कार्यक्रम मार्फत मञ्चन गर्नेछ ।

विराटनगरको अतिथि सदनमा रासलीलाको सम्पूर्ण कार्यक्रम सञ्चालन हुनेछ । चैत ५ गते कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले रासलीला कार्यक्रमको उद्घाटन गर्ने छन् । चैत ५ गते सुरु हुने रासलीला कार्यक्रमको ९ गते समापन हुनेछ । विराटनगर स्थित अतिथि सदन भवनको पछाडि तर्फ राधा मण्डप भवनमा प्रत्येक दिन आधा घण्टाको समयमा मारवाडी, थारु, मैथिली र सन्थाल जातीको धर्म संस्कृतिको बारेमा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसपछि भारतको वृन्दावनबाट आएका कलाकारहरूले रासलीला कार्यक्रम सञ्चालन गर्नेछन् । श्रीहरि सत्संग समिति नेपालका अध्यक्ष एवं भाषा संस्कृति विज्ञ भिखमचन्द सरले भारतको वृन्दावनमा सीमित रहेको रासलीला कार्यक्रमलाई नेपालसम्म ल्याउने प्रयास गरिएको बताए । नेपालमा सनातन हिन्दु धर्म सम्बन्धी प्रचार–प्रसारका अभियानता सरलले रासलीला कार्यक्रमबाट १० लाख रुपैयाँ बचाउने र ती रकमले तेस्रो रथ खरिद गर्ने बताए ।

यस अघि सनातन हिन्दु धर्म अभियान ता सरलले श्रीहरि सत्संग समिति नेपालको नामबाट दुई वटा रथ खरिद गरिसकेका छन् । सरलले रासलीला कार्यक्रममा सबै विराटनगरवासीलाई सहभागिता जनाउन र केही हदसम्म सहयोग गर्न आग्रह गरेका छन् । कार्यक्रममा सहभागिता जनाउनेले राखेको दान पेटिकामा केही रकम सहयोग गर्न सरलले विराटनगरवासीलाई अपिल गरेका छन् ।

श्रीहरि सत्संग समिति नेपालले रासलीला कार्यक्रमलाई भव्य रूपमा आयोजना गर्न समितिका कोशी प्रदेश उपाध्यक्ष सुन चाँदी व्यवसायी महेशकुमार साह “स्वर्णकार” लाई संयोजक र उद्योगी घनश्याम काबरालाई सह-संयोजकको जिम्मेवारी दिएको छ ।

रासलीला कार्यक्रमका संयोजक स्वर्णकारले आइतबार पत्रकार सम्मेलन गरेर रासलीलाको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराए । पत्रकार सम्मेलनमा श्रीहरि सत्संग समिति नेपालका केन्द्रीय अध्यक्ष भिखमचन्द सरल, केन्द्रीय कोषाध्यक्ष शिवरतन जोशी, कोशी प्रदेश अध्यक्ष विद्यानन्द माझी, मोरङ अध्यक्ष ओमप्रकाश अग्रवाल, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवालको सहभागिता रहेको थियो ।