
- ब्रह्ममदेव यादव, विराटनगर ९२२ पटक हेरिएको
शनिबार, चैत्र ०१, २०८१ समय : १४:२६:१५ , ४ हप्ता अगाडि
मारवाडी सेवा समिति विराटनगरले मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडियालाई शहिद गोविन्दराम अग्रवाल राजनैतिक सम्मान पुरस्कार प्रदान गरेका छन् । बगडिया लगातार दुई कार्यकालदेखि रंगेली नगरपालिकाको मेयरको हैसियतमा विकास निर्माण सम्बन्धी उत्कृष्ट कार्यसम्पादन गरिरहेको कारण मारवाडी सेवा समिति विराटनगरले बगडियालाई सम्मान र पुरस्कारबाट सम्मानित गरेको हो ।
मारवाडी सेवा समिति विराटनगरले ३१ हजार रुपैयाँ राशिको श्रीबल्लभ लखोटिया समाजसेवा सम्मान पुरस्कार समाजसेवी इन्दिरा रिजाललाई प्रदान गरेका छन् । जुगलकिशोर लखोटिया र विजय लखोटिया दाजु भाईले स्व. बुवा श्रीबल्लभप्रसाद लखोटियाको नामबाट मारवाडी सेवा समिति विराटनगरमा समाजसेवा सम्मान पुरस्कार स्थापना गरेका छन् । २५ वर्षदेखि यो समाजसेवा सम्मान पुरस्कार गैर मारवाडी समुदायले पाइरहेका छन् ।
मारवाडी सेवा समिति विराटनगरले २०८१ सालको महामूर्खको उपाधि प्राप्त गरेका उद्योगी एवं समाजसेवी देवकिशन मुन्दडा, कोशी अस्पताल विराटनगरमा निःशुल्क भोजन सेवा सञ्चालन गरिरहेको नरसेवा नारायण सेवाका अध्यक्ष समाजसेवी पृथ्वी अग्रवाल र २० वर्षदेखि हास्य विद्याको क्षेत्रमा कलम चलाएर १ हजार अंक कविता प्रकाश गर्न सफल कवि लक्ष्मण नेवटीयालाई सम्मान गरेका छन् ।
नरसेवा नारायण सेवाका अध्यक्ष समाजसेवी पृथ्वी अग्रवालले अन्नपूर्णा रसोइको नामबाट १ वर्षभन्दा बढी समयदेखि विराटनगरको कोशी अस्पतालका बिरामी र कुरुवालाई दिनको खाना निःशुल्क वितरण गरिरहेका छन् । मारवाडी युवा मञ्च विराटनगरले केही दिन अगाडि होली पर्वको अवसरमा आयोजना गरेको होली हास्य सम्मेलनमा समाजसेवी पृथ्वी अग्रवाललाई सम्मान गरेका थिए । कवि नेवटीयाको प्रत्येक आइतबार उद्घोष दैनिकमा “लक्ष्मणको कुनो” शीर्षकमा हास्य विद्याको कविता प्रकाशन भइरहेका छन् ।
मारवाडी सेवा समिति विराटनगरको होली पर्वको अवसरमा शुक्रवार आयोजना गरेको प्रीति सम्मेलन तथा सांस्कृतिक कार्यक्रममा पाँचै जनालाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संविधान सभा सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी पवनकुमार सारडा र मारवाडी सेवा समिति विराटनगरका कार्यवाहक अध्यक्ष जुगल किशोर राठीले पाँचै जनालाई सम्मान पुरस्कारबाट सम्मानित गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय मारवाडी परिषदका केन्द्रिय उपाध्यक्ष भिखमचन्द सरल, माहेश्वरी समाज विराटनगरका अध्यक्ष घनश्याम काबरा, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, जैन श्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगड, नेपाल ब्राह्मण समाज विराटनगरका अध्यक्ष सुशिल जोशी, मारवाडी महिला मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष मिलन नौलखा, मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष अंकित मारु र मञ्चका प्रथम उपाध्यक्ष मोहित लालवानीले सम्मान पुरस्कार प्राप्त गरेका पाँचै जनालाई बधाई र शुभकामना व्यक्त गरेका थिए ।