
- ब्रह्मदेव यादव, विराटनगर ५१४ पटक हेरिएको
आइतबार, फाल्गुण २५, २०८१ समय : १४:३७:४९ , ३ दिन अगाडि
उद्घोष दैनिकले कवि लक्ष्मण नेवटियालाई साहित्य सम्मान प्रदान गरेका छन् । उद्घोष दैनिकले आइतबार विराटनगरमा साहित्य सम्मान एवं कृति विमोचन कार्यक्रम आयोजना गरेर हास्य विधाका वरिष्ठ कवि नेवटियालाई सम्मान गरेको हो ।
कवि नेवटियाले विराटनगरबाट प्रकाशन भइरहेको उद्घोष दैनिकमा २० वर्षदेखि निरन्तर “लक्ष्मणको कुनो” शीर्षकमा हास्य विधाको कविता लेखिरहेका छन् । जुन कवितालाई उद्घोष दैनिकले प्राथमिकताका साथ निरन्तर प्रकाशन गरिरहेका छन् ।
हप्तामा १ दिन प्रत्येक आइतबार उद्घोष दैनिकमा “लक्ष्मणको कुनो” शीर्षकमा नेवटियाको कविता प्रकाशन भइरहेको १ हजार अंक पुगेको छ । कवि नेवटियाको कविता १ हजार अंक पुगेको अवसरमा उद्घोष दैनिकले नेवटियालाई साहित्य सम्मानबाट सम्मानित गरेको हो ।
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङ र उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले कवि नेवटियालाई साहित्य सम्मान प्रदान गरेका हुन् । विराटनगरका महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य, विराटनगर महानगरपालिकाका पूर्व मेयर एवं कोशी प्रदेश सांसद भीम पराजुली, संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, भारतका वरिष्ठ साहित्यकार कल्याण सिंह सेखावत र भाषा तथा सांस्कृतिक विज्ञ भिखमचन्द सरल, अतिथिको रूपमा साहित्य सम्मान कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा कवि नेवटियाले नेपाली, हिन्दी र मारवाडी भाषामा लेखेको पुस्तक प्रदेश प्रमुख खापुङ सहित अतिथिहरूले विमोचन गरेका थिए । कवि नेवटियाले नेपाली भाषामा लेखेको ‘शब्दयज्ञ’ कविता संग्रह पुस्तकको पत्रकार एवं साहित्यकार प्रमोद प्रधानले नेवटियाको कृति र व्यक्तिको बारेमा प्रकाश पारेका थिए ।
नेवटियाले हिन्दी भाषामा लेखेको ‘अदृश्यका अन्तरदर्शन’ पुस्तकको मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष एवं समाजसेवी सुरेशकुमार शर्माले नेवटियाको कृति र भाषाको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा कवि नेवटियाका श्रीमती निलमदेवी नेवटियालाई पनि सम्मान गरिएको छ । कार्यक्रममा कवि नेवटियालाई विराटनगरका विभिन्न भाषा संस्कृति सँग आबद्ध संघ संस्थाहरुले सम्मान गरेका छन् ।