मोरङमा ओली पक्ष कमजोर

  • चिरफार डटकम, विराटनगर ७११  पटक हेरिएको

शुक्रबार, फाल्गुण १६, २०८१ समय : १८:०८:०० , २ महिना अगाडि

नेकपा एमालेको संस्थापन पक्ष मोरङमा कमजोर देखिएको छ । संस्थापन इतर पक्ष बलियो अवस्थामा दावेदारी प्रस्तुत गरेकोले संस्थापन पक्ष स्वतः कमजोर देखिएको हो ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मोरङका अध्यक्ष बाबुराम कार्की आफू चुनावी प्रतिस्पर्धामा नउत्रिने तर टिका लगाएर दिए भने पुनः अध्यक्ष बन्ने अभिव्यक्तिले पनि मोरङमा ओली पक्ष कमजोर रहेको निश्कर्ष निकालिएको छ । आइतवारदेखि विराटनगरमा एमाले मोरङको १०औं अधिवेशन सुरु हुँदैछ ।

ओली पक्षधर बाबुराम कार्की र राजकुमार ओझा अध्यक्ष पदका आंकाक्षी रहेको छन् । संस्थापन इतर पक्षधर एमाले नेता विनोद ढकाल पक्ष मोरङमा बलियो अवस्थामा रहेका छन् ।

ढकाल पक्षबाट अजम्बर राई र सागर थापा अध्यक्ष पदका आंकाक्षी रहेका छन् । जिल्ला समन्वय समिति मोरङका अध्यक्ष समेत रहेका अजम्बर राईलाई अध्यक्ष बनाएर अध्यक्षका अर्का आकांक्षी सागर थापालाई उपाध्यक्ष बनाउने ढकाल पक्षको तयारी छ ।

फागुन १७ देखि १९ गतेसम्म चल्ने एमाले मोरङको अधिवेशनमा मोरङको १७ वटै स्थानीय तहबाट ९१४ जना अधिवेशन प्रतिनिधि छनौट भएका छन् । जसरी पनि जित निकाल्ने पक्षमा रहेको ओली पक्षधर नेताहरू शनिवार पार्टीको तर्फबाट मोरङको स्थानीय तहमा निर्वाचित मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्ष सँग छलफल गरेका छन् ।