“विराट गोल्ड कपलाई नाफामा लान दर्शक मैदानसम्म आउन जरुरी छ”

  • ब्रह्मदेव यादव, विराटनगर ४२१  पटक हेरिएको

मंगलबार, फाल्गुण ०६, २०८१ समय : १४:१२:३५ , ३ हप्ता अगाडि

विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक उद्योगी नविन रिजालले गोल्ड कपलाई नाफामा लानका लागि दर्शक मैदानसम्म आउन जरुरी रहेको तर्क गरेका छन् । लगातार २ संस्करणदेखि विराट गोल्ड कपले नाफा कमाउन सकिरहेको छैन ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आयोजना गरेको ७औं संस्करणको विराट गोल्ड कपले नाफा कमाउन सकेन । विराट गोल्ड कप फुटबल ट्रष्टका पदाधिकारीहरूले आफैले आयोजना गरेको ८औं संस्करणको गोल्ड कपमा कोशी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्ले यस अघि दिँदै आएको सहयोग रकम नदिँदा विराट गोल्ड कप घाटामा गएको थियो । ९औं संस्करणको विराट गोल्ड कप गर्ने जिम्मेवारी उद्योगी नविन रिजालको काँधमा आइपुगेको छ ।

संयोजक रिजालले विराट गोल्ड कप फुटबल ट्रष्टका पदाधिकारीहरूलाई सँगै राखेर सोमबार आयोजना गरेको पत्रकार सम्मेलन मार्फत फागुन १९ गतेदेखि विराटनगरको सहिद रंगशालामा हुन गइरहेको विराट गोल्ड कप फुटबल प्रतियोगितामा दर्शकलाई मैदानसम्म ल्याउन अफरै अफरको घोषणा गरेका छन् । संयोजक रिजालले २ सय रुपैयाँको टिकट काटेर सहिद मैदान प्रवेश गर्ने दर्शकले सुरुमा ४५ मिनेटको सांस्कृतिक कार्यक्रम र त्यसपछि ६ः३० बजेदेखि सुरु हुने ९० मिनेटको फुटबलको खेल हेर्न पाउने छन् ।

विराट गोल्ड कप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक रिजालले १५ हजार रुपैयाँ टिकट मूल्य रहेको भिआइपी कक्षको टिकट ५ हजार रुपैयाँमा सबै खेल हेर्न पाउने गरी टिकट विक्री गर्ने निर्णय भएको बताए । यस बाहेक सबै खेल हेर्न सक्ने सिजनल टिकट १७ सय रुपैयाँ टिकट दर कायम गरिएको बताए । फागुन १९ गते सुरु हुने प्रतियोगिताको फाइन खेल २८ गते हुनेछ ।

नेपालका ८ र भारतका २ गरी १० टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा विराट गोल्ड कप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाही, संघिय सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत, नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्य सहभागी थिए ।