ज्येष्ठ नागरिक गिरीलाई लायन्सको सम्मान

  • चिरफार डटकम, विराटनगर ५२०  पटक हेरिएको

बुधबार, माघ ३०, २०८१ समय : १७:३७:३४ , ४ हप्ता अगाडि

विराटनगर महानगरपालिकाको वडा नं. ५ बस्ने १ सय ७ वर्षीय ज्येष्ठ नागरिक कृतिराज गिरीलाई बुधबार लायन्सकर्मीहरुले सम्मान गरेका छन् । समाजको उन्नति र प्रगतिमा विशिष्ट योगदान पुर्‍याए वापत ज्येष्ठ नागरिक गिरीलाई नेपालको पहिलो लायन्स क्लबको मान्यता पाएको लायन्स क्लब अफ विराटनगरले सम्मान सहित अभिनन्दन गरेको हो ।

लायन्स क्लबका पूर्व डिष्ट्रिक गभर्नर रेवतबहादुर कार्की र फुलकुमार लालवानी, लायन्स क्लब अफ विराटनगरका अध्यक्ष निर्मल दाहाल, विराटनगर–५ का वडाध्यक्ष सन्तोष न्यौपाने, विराटनगर–१५ का वडाध्यक्ष प्रकाश साह, कार्यक्रम संयोजक प्रकाश माहेश्वरी बुधबार ज्येष्ठ नागरिक गिरीको निवासमै पुगेर सम्मान तथा अभिनन्दन पत्र प्रदान गरेका थिए ।

लायन्स क्लबका पूर्व डिष्ट्रिक गभर्नर एवं नेपाल कांग्रेसका नेता फुलकुमार लालवानीले समाजको उन्नति र प्रगतिमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिलाई उत्साह प्रदान गर्ने उद्देश्यका साथ ज्येष्ठ नागरिक गिरीलाई सम्मान सहित अभिनन्दन गरिएको बताए ।