
- ब्रह्मदेव यादव, विराटनगर ६७३ पटक हेरिएको
शुक्रबार, माघ २५, २०८१ समय : १४:३६:०४ , २ महिना अगाडि
ईलाका प्रहरी कार्यालय नेमुवा मोरङलाई तस्करी लाइन संचालन गर्ने जिम्मेवारी दिइएको छ । ईलाका प्रहरी कार्यालय नेमुवा मोरङका प्रमुख, प्रहरी नायव निरीक्षक भुवन श्रेष्ठले तस्करी लाइन संचालन गर्नका लागि महत्त्वपूर्ण जिम्मेवारी पाएको जिल्ला स्थित उच्चप्रदस्थ प्रहरी समाचार सूत्रले जानकारी गराएको छ । पछिल्लो समय विराटनगर महानगरपालिका सँग सिमाना जोडिएको नेपाल भारतको सीमान्त क्षेत्र रानी नाकाबाट तस्करीको लाइन ठप्प छ ।
रानी नाकाको दरैया, मटेरवा, इस्लामपुर, भेडियारी र बुधनगरबाट तस्करी लाइन संचालन गरिरहेको तस्कर गिरोह यतिखेर सुनसरी तर्फ पलायन भएका छन् । तस्कर गिरोहले नेपाल, भारतको सीमान्त क्षेत्र सुनसरीको विभिन्न नाकाबाट राज्यको सुरक्षा तन्त्रको मिलो मतोमा मोटो परिमाणमा तस्करी लाइन संचालन गरिरहेका छन् ।
सुनसरीको विभिन्न नाकाबाट भित्रिएको सामान ईलाका प्रहरी कार्यालय नेमुवा मोरङको मिलेमतोमा विराटनगरदेखि दुहवी, इटहरी र धरानसम्म पुगिरहेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ४ स्थित नोबेल अस्पताल छेउछाउको सडक मार्ग भएर मोटो परिमाणको तस्करीको सामान विराटनगर भित्रिरहेका छन् ।
सुनसरीबाट विराटनगर हुँदै बुढिगंगा गाउँपालिका अन्तर्गत हुलाकी सडक मार्गबाट नेमुवा हुँदै तस्करीका सामान दुहवी, इटहरी र धरानसम्म पुगिरहेका छन् । जसको व्यवस्थापनको जिम्मेवारी ईलाका प्रहरी कार्यालय नेमुवा मोरङका प्रमुख भुवन श्रेष्ठलाई दिएका छन् ।
जिल्ला स्थित उच्चपदस्थ प्रहरी सूत्रका अनुसार तस्करी लाइन संचालन भइरहेको बेला ईलाका प्रहरी कार्यालय नेमुवा मोरङका प्रमुख भुवन श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय मोरङका उच्चपदस्थ प्रहरी अधिकृत बिच मोबाइलमा घण्टौँ घण्टा कुरा हुने गरेका छन् । गृह मन्त्रालयले मोबाइल कल डिटेलको आधारमा मात्रै छानबिन गर्ने हो भने तस्करी लाइनको बारेमा पर्दाफास हुनेछ ।
ईलाका प्रहरी कार्यालय नेमुवा मोरङका प्रमुख, प्रहरी नायव निरीक्षक भुवन श्रेष्ठले तस्करी लाइन संचालन भइरहेको विराटनगर–४ को नोबेल आसपासको एरिया आफ्नो अधिकार क्षेत्र भित्र नपरेको र तस्करी लाइनको बारेमा आफूलाई थाहा नभएको बताए ।