
- ब्रह्मदेव यादव, विराटनगर ३५७ पटक हेरिएको
बिहिबार, माघ २४, २०८१ समय : १५:३२:०४ , २ महिना अगाडि
विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिले विराटनगर स्थित मोरङ उद्योग व्यापार संघमा सचिवालय स्थापना गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले ट्रष्टका सदस्य एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी सुम्पिएको छ ।
विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक नविन रिजालले २०८१ फागुन १९ देखि २८ गतेसम्म फुटबल प्रतियोगिता आयोजना गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष प्रस्ताव गरेको छ । कोशी प्रदेश सरकार अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्नका लागि आयोजक समितिलाई विराटनगरको सहिद रंगशालाको मैदान उपलब्ध गराएको छ ।
अब विराटनगर स्थित सहिद रंगशालाको मैदानमा फर्डलाइटमा दिवारात्री कालिन फुटबल प्रतियोगिता हुनेछ । विराट गोल्डकप फुटबल ट्रष्टका कार्यसमिति सदस्य एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व सहायक महासचिव बसन्त अर्यालले भारतको दिल्ली र कलकताका १/१, भुटानका १, नेपालको विभागीय टोली ७ गरेर १० टिमको सहभागिता रहने बताए ।
विराट गोल्डकप फुटबल प्रतियोगिता आयोजक समितिका संयोजक एवं मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नविन रिजालले फुटबल प्रतियोगिताको तयारी सुरु भइसकेको बताए । विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरका अध्यक्ष किशोरबहादुर शाहीले फुटबल प्रतियोगिताका लागि नेपाल, भारत र भुटानका १० टिमलाई आमन्त्रणका लागि पत्राचार गरिएको बताए ।