- ब्रह्मदेव यादव, विराटनगर ३५९ पटक हेरिएको
आइतबार, माघ २०, २०८१ समय : १७:३२:०६ , १२ घन्टा अगाडि
उद्योग संगठन मोरङले विद्यार्थीलाई उद्यमी बनाउने प्रयासलाई विराट एक्स्पो २०२५ को महत्वपूर्ण उपलब्धिको रूपमा चित्रण गरेको छ । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा आयोजना गरेको विराट एक्स्पोको आइतबार समापन समारोहमा अध्यक्ष राकेश सुरानाले बढ्दो विदेश पलायनलाई रोक्न र स्वदेशमै रोजगारी उपलब्ध गराउने उद्देश्यका साथ विद्यार्थीहरूलाई उद्यमी बनाउने अभियान थालिएको बताए ।
अध्यक्ष राकेश सुरानाले विराट एक्स्पोको ९ दिनमा २ हजार ५ सय विद्यार्थीलाई उद्यमी बनाउने प्रयास तर्फ संगठनका पदाधिकारी, कार्यसमितिका सदस्य र संगठनका कर्मचारीहरूले दिनरात मेहनत गरेको बताए । संगठनले कोशी प्रदेश भरीको विभिन्न कलेजको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई उद्योग र व्यापार सम्बन्धी प्रत्यक्ष जानकारी गराउने उद्देश्यका साथ प्राध्यापक ज्योति कोठारीको टिम परिचालन गरेका थिए ।
संगठनले विराट एक्स्पोमा रोजगार पेभिलियन मार्फत विद्यार्थीहरूको बायोडाटा लिएर उनीहरूको इच्छा बमोजिम सिप सिकाउँदै रोजगार उपलब्ध गराउने गरेको प्रयासलाई पनि महत्वपूर्ण उपलब्धिको रूपमा व्याख्या गरेका छन् ।
विराट एक्स्पोमा नेपाल, भारत, बंगलादेश र पाकिस्तानका गरी २ सय ६८ स्टल रहेका थिए । र सबै स्टलबाट अपेक्षाकृत रूपमा व्यापार भएको उद्योग संगठन मोरङका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतुकमार कार्की, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउत, विराट एक्स्पोको समापन समारोहमा मन्तव्य व्यक्त गरेका थिए । उद्योग संगठन मोरङले आयोजना गरेको विराट एक्स्पोमा मुख्य प्रायोजक, प्रायोजक स्टल राख्ने उद्योगी व्यवसायीका प्रतिनिधिहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्की, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले मायाको चिनो प्रदान गरेका थिए ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, विपिन काबरा, कोषाध्यक्ष सुबोध कोइराला, कार्यसमितिका सदस्य एवं विराट एक्स्पोका सहसंयोजक पारस लुनियाँ, कार्यसमितिका सदस्यहरू सुरेन्द्र गोल्छा, राजन खत्री, प्रतिभा रिजाल ओली, सौरभ सारडा, दिपक अग्रवाल, सिद्धार्थ काबरा, विरेन्द्र राठी, जेनेन्द्र शर्मा, सन्तोष भगत, श्रीजन प्याकुरेल सहित संगठनका महानिर्देशक चुडामणी भट्टराई, अधिकृत विनोद भट्टराई र कर्मचारीको टिमले विराट एक्स्पोलाई भव्य एवं ऐतिहासिक रूपमा सम्पन्न गर्न १ महिनादेखि तयारी गरेका थिए ।