विराट एक्स्पो अवलोकनका लागि उर्लियो मानव सागर

  • ब्रह्ममदेव यादव, विराटनगर ५०९  पटक हेरिएको

शनिबार, माघ १९, २०८१ समय : २२:०४:१६ , १ दिन अगाडि

शनिबार विराट एक्स्पो अवलोकनका लागि मानव सागर उर्लिएको छ । सरकारी बिदाको दिन शनिबार २५ हजार भन्दा बढी सर्वसाधारणहरूले विराट एक्स्पोको अवलोकन गरेका छन् । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पो २०२५ को आयोजना गरेका छन् ।

३ करोड भन्दा बढी रकम खर्चेर आयोजना गरिएको विराट एक्स्पो हेर्न लायकको छ । आइतबार विराट एक्स्पोको समापन हुँदैछ । शनिबार नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतदेखि हजारौँ हजार सर्वसाधारणहरूले विराट एक्स्पोको अवलोकन गरेका छन् ।

विराट एक्स्पो अवलोकनका लागि मानव सागर नै उर्लिएपछि उद्योग संगठन मोरङका पदाधिकारीहरूलाई भिडको व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, निवर्तमान अध्यक्ष सुयस प्याकुरेल, बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष एवं विराट एक्स्पो संयोजक भोलेश्वर दुलाल, उपाध्यक्ष राजकुमार गोल्छा, कोषाध्यक्ष सुबोध कोइराला सहित कार्यसमितिका सदस्यहरू र कर्मचारीहरू भिड व्यवस्थापनमा सक्रिय थिए ।

विराट एक्स्पोमा नेपाल, भारत, बङ्गलादेश र पाकिस्तान गरी ४ देशका २ सय ६८ वटा स्टल रहेका छन् । र सबै स्टलबाट शनिबार सोचेभन्दा बढी कारोबार भएको उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले बताए । उद्योग संगठन मोरङले विराट एक्स्पो मार्फत विद्यार्थीहरूलाई सिप सिकाएर रोजगारको अवसर प्रदान गर्ने प्रयत्न गरेका छन् । जुन कार्यको चौतफी प्रशंसा भइरहेका छन् ।

संघिय सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले माघ १२ गते विराट एक्स्पोको उद्घाटन गरेका थिए । माघ २० गते आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराट एक्स्पोको समापन गर्ने कार्यक्रम रहेको छ ।