विराटनगरमा नेपाली कांग्रेसको उपभोक्ता अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रम 

  • ब्रह्मदेव यादव, विराटनगर ६१५  पटक हेरिएको

शुक्रबार, माघ १८, २०८१ समय : १६:३२:१२ , ३ दिन अगाडि

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले शुक्रबार विराटनगरमा वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकारको सम्बन्धमा कोशी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । जनताको समस्या सुन्ने र त्यसलाई सरकार मार्फत समाधान गराउने उद्देश्यका साथ नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको विभागका संयोजक गुरु बरालले बताए । यतिखेर नेपाली कांग्रेस र नेकपा एमालेले केन्द्रदेखि प्रदेशसम्म सरकार संचालन गरिरहेका छन् ।

यस्तो अवस्थामा उद्योगी, व्यवसायी र उपभोक्तालाई परेको समस्या सुन्ने र त्यसलाई सरकार मार्फत समाधान गराउन नेपाली कांग्रेसले पहलकदमी लिने अन्तरक्रिया कार्यक्रमको मुख्य उद्देश्य रहेको संयोजक बरालले बताए । नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रीय सदस्य एवं कोशी प्रदेश स्तरीय कार्यक्रमका अध्यक्ष फुलकुमार लालवानीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि, नेपाली कांग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का रहेका थिए ।

कांग्रेस नेता एवं पूर्व मन्त्री मीन विश्वकर्मा, नेपाली कांग्रेस कोशी प्रदेश समितिका अध्यक्ष एवं कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, पूर्व मुख्यमन्त्री केदार कार्की, कोशी प्रदेश सांसद गयानन्द मण्डल, नेपाली कांग्रेस केशी प्रदेश समितिका सहमहामन्त्री प्रमिला गच्छदार, कोषाध्यक्ष राजेश गुप्ता कार्यक्रममा सहभागी थिए ।

नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना, कोषाध्यक्ष सुबोध कोइरालादेखि कोशी प्रदेशका उद्योगी व्यवसायी उपभोक्तावादी संस्थाका पदाधिकारी अधिकारकर्मी र उपभोक्ता सँग सरोकार राख्ने सरकारी कार्यालयका उच्चपदस्थ कर्मचारीहरू अन्तरक्रिया कार्यक्रममा सहभागी थिए ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रीय सदस्य एवं राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमबहादुर महर्जनले वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ताको अधिकार विषय कार्यपत्र प्रस्तुत गर्दै बजारमा गुणस्तरहीन वस्तुको उत्पादन र उत्पादित वस्तुको मूल्यमा कालोबजारी भइरहेको बताए ।

नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागका केन्द्रीय सदस्य, नेपाली कांग्रेसका नेता एवं कार्यक्रमका अध्यक्ष फुलकुमार लालवानीले उद्योगी, व्यवसायी, अधिकारकर्मी, उपभोक्तावादी संघ संस्थाका पदाधिकारीहरूले राखेको समस्यालाई प्रतिवेदन बनाएर नेपाली कांग्रेसको केन्द्रीय समितिमा बुझाउने र त्यसलाई सरकारमार्फत समाधान गराउने उद्देश्यका साथ अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको बताए ।