- ब्रह्मदेव यादव, विराटनगर ३६५ पटक हेरिएको
बिहिबार, माघ १७, २०८१ समय : १६:४५:०८ , ४ दिन अगाडि
विराटनगरमा जारी विराट एक्स्पो २०२५ मा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको छ । उद्योग संगठन मोरङले माघ १२ देखि २० गतेसम्म विराटनगर–१४ स्थित डिग्री क्याम्पसको मैदानमा ८औं संस्करणको विराट एक्स्पोको आयोजना गरेका छन् । विराट एक्स्पोमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानले स्टल राखेर निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराट एक्स्पोको उद्घाटन भएकै दिन माघ १२ गते रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको निःशुल्क आँखा शिविरको शुभारम्भ गरेका थिए । उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरका महासचिव सुरेन्द्र गोल्छाले नेत्र सहायक उमेश्वर साह, पुजा सिंह र शिविर संयोजक सागर पोखरेल गरी ३ जना कर्मचारी परिचालन गरेर निःशुल्क आँखा शिविर सञ्चालन भइरहेको जानकारी गराए ।
निःशुल्क आँखा शिविर सञ्चालन भएको ६ दिनमा ५ सय जना भन्दा बढी सर्वसाधारणले आँखा परीक्षण गराएको शिविर संयोजक सागर पोखरेलले जानकारी गराए । विराट एक्स्पोमा आँखा परीक्षण, चश्माको पावर परीक्षण र मोतिया बिन्दु रोगको परीक्षण गराएका बिरामीले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा नेत्र रोग विशेषज्ञबाट थप सेवा लिन पाउने छन् । जसका लागि बिरामीले नाम दर्ता गर्दा रकम नलाग्ने व्यवस्था गरिएको छ ।
बिरामीले ७ दिन भित्रमा बिहान ८ देखि १२ बजेभित्रमा उपचार सेवा लिन पाउने छन् । रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरले विराट एक्स्पो मार्फत सर्वसाधारणका लागि सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यका साथ सदस्यता वितरण अभियान सञ्चालनमा ल्याएका छन् । विराट एक्स्पोमा १ हजार रुपैयाँ तिरेर सदस्यता लिएका व्यक्तिले १ वर्षको अवधिमा ३ पटकसम्म रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा नेत्र रोग विशेषज्ञबाट निःशुल्क रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने छ ।
२ हजार रुपैयाँ तिरेर सदस्यता प्राप्त गर्नेको हकमा पुरै परिवारका सदस्यहरूले १ वर्षको अवधिमा ३ पटकसम्म निःशुल्क रूपमा उपचार सेवा लिन सक्ने व्यवस्था गरिएको छ । रामलाल गोल्छा आँखा प्रतिष्ठानले सर्वसाधारणका लागि ८० र फास्ट ट्याक (इमरजेन्सी) सेवा लिनेको हकमा ४ सय ८० रुपैयाँ टिकट दर लाग्ने व्यवस्था गरेका छन् । तर विराट एक्स्पोमा १ हजार र २ हजार रुपैयाँ तिरेर सदस्यता लिनेको हकमा फास्ट ट्याक मार्फत नेत्र रोग विशेषज्ञबाट सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ ।
यस बाहेक विराट एक्स्पोमा सदस्यता प्राप्त गर्नेले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा आँखा परीक्षणको समयमा गरिने सबै प्रकारको परीक्षणमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । उद्योग संगठन मोरङका कार्यसमिति सदस्य एवं रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरका महासचिव सुरेन्द्र गोल्छाले स्व. हजुरबुवा रामलाल गोल्छाले देखाएको सही बाटोमा हिँड्ने उद्देश्य अनुरूप सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत विराट एक्स्पोमा निःशुल्क आँखा शिविर सञ्चालन गरिरहेको बताए ।
रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानलाई रामलाल गोल्छा च्यारेटी ट्रस्टदेखि विभिन्न सामाजिक संघ संस्थाको सहयोग रहेकोले त्यही सहयोग प्राप्त रकमबाट विराट एक्स्पोमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको सहयोगमा विराट एक्स्पोमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न पाउँदा खुसी लागेको बताए ।