विराट एक्स्पो माघ ११ गतेदेखि

  • ब्रह्मदेव यादव, विराटनगर ३१४  पटक हेरिएको

सोमबार, पुष २२, २०८१ समय : १५:२४:५९ , २ दिन अगाडि

उद्योग संगठन मोरङले ३ करोड रुपैयाँ खर्च गरेर माघ ११ गतेदेखि विराटनगरमा विराट एक्स्पो २०२५ को आयोजना गर्न गइरहेको छ । संगठनले विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको हो । उद्योग संगठन मोरङले विराट एक्स्पो स्थल डिग्री क्याम्पसको मैदानमा सोमबार पत्रकार सम्मेलन गरेर माघ ११ गतेदेखि सुरु हुने विराट एक्स्पो माघ २० गतेसम्म सञ्चालनमा रहने जानकारी गराए ।

उद्योग संगठन मोरङले भव्य रूपमा विराट एक्स्पोको आयोजना गर्न उपाध्यक्ष भोलेश्वर दुलाल (भोला) लाई संयोजक र कार्यकारिणी समितिका सदस्य पारस लुनियालाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले अन्तर्राष्ट्रिय स्तरको विराट एक्स्पोमा ९ वटा पेभिलियन अन्तर्गत २ सय ६८ वटा स्टल रहने जानकारी गराए ।

नेपाल, भारत, पाकिस्तान र बंगलादेशका गरी विराट बजार बिटुबीका १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनका १२ स्टल, रोजगार कोशीका १२ स्टल, व्यावसायिक सेवा प्रदायक, सूचना, शिक्षा तथा डिजिटल प्रविधिका ४० स्टल, अटोमोबाइल्सका २० स्टल, औद्योगिक तर्फ ७५ स्टल, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा एसएमईजका ७५ स्टल, खाद्यका १० स्टल र प्रयोजकका १२ स्टल रहने अध्यक्ष सुरानाले बताए ।

संगठनका उपाध्यक्ष एवं विराट एक्स्पोका संयोजक भोलेश्वर दुलालले २०७९ सालमा आयोजना गरिएको एक्स्पो भन्दा यस पटक आगन्तुकलाई थप सेवा सुविधा प्रदान गर्न लागिएको जानकारी गराए । संगठनले २०८९ सालमा विराटनगर बाहिरबाट एक्स्पो घुम्न आउने सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेका थिए ।

यस वर्ष पनि निःशुल्क बस सेवा सञ्चालनलाई निरन्तरता दिने संयोजक दुलालले बताए । बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ । बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म २०० रुपैयाँ प्रवेश शुल्क (टिकट दर) कायम गरिएको बताए ।

साँझको समयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिने र बाहिरबाट ल्याइने कलाकारलाई मोटो रकम तिर्नुपर्ने भएकोले ४ बजेदेखि लागु हुने गरी टिकट दरमा वृद्धि गरिएको दुलालले बताए । विराट एक्स्पो २०२५ को सम्पूर्ण आन्तरिक तयारी पुरा भइसकेको र फिल्ड निर्माणको काम सुरु भएको संयोजक दुलालले बताए ।

विराट एक्स्पोको अवधिमा प्रत्येक दिन साँझ राष्ट्रिय रूपमा ख्यातिप्राप्त पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेडस, एकदेव लिम्बु, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डि, हुमन आचार्य, स्वप्न सुमनको प्रस्तुति रहने छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी र उपाध्यक्ष विपिन काबराको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।