विराटनगरका युवाले मनाए नेपाली मारवाडी युवा दिवस

  • ब्रह्मदेव यादव, विराटनगर ५५१  पटक हेरिएको

शुक्रबार, पुष १९, २०८१ समय : १६:००:२४ , २ दिन अगाडि

विराटनगरमा बसेर उद्योग व्यवसायी संचालन गरिरहेका युवाहरूले शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरेर नेपाली मारवाडी युवा दिवस मनाएका छन् । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन अन्तर्गतको मारवाडी युवा मञ्च विराटनगरले विभिन्न कार्यक्रम गरेर नेपाली मारवाडी युवा दिवस मनाएको हो ।

मारवाडी युवा मञ्च विराटनगरले शान्ति पदयात्रा, रक्तदान कार्यक्रम, भक्का आनन्द सेवा र झुल वितरण जस्ता कार्यक्रम गरेर नेपाली मारवाडी युवा दिवस मनाएका हुन् । मारवाडी युवा मञ्च विराटनगरले शुक्रवार बिहान विराटनगरको ट्राफिक चौकबाट निकालेको शान्ति पदयात्रा नगर क्षेत्रको विभिन्न भागको परिक्रमा पछि जैन स्वेताम्बर तेरापंथ भवनमा पुगेर सम्पन्न भएको थियो ।

मारवाडी युवा मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष एवं नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका केन्द्रीय सचिव मोहित लालवानीको अध्यक्षतामा निस्केको शान्ति पदयात्रा र्‍ यालीमा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका संस्थापक केन्द्रीय अध्यक्ष सुरेन्द्र गोल्छा, केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल र केन्द्रीय सदस्य जय शर्मा सहित ५० भन्दा बढी मारवाडी समुदायका युवाहरू सहभागी थिए । मारवाडी युवा मञ्च विराटनगरले विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ४४ जनाले रक्तदान गरेका थिए ।

विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल ब्लड बैंकका प्रमुख प्रविण दाहालले ४४ जना युवाले रक्तदान गरेको जानकारी गराए । रक्तदान कार्यक्रममा सहभागिता जनाएका ३ सय भन्दा बढिले भक्का आनन्द सेवा लिएका थिए । जाडोको समयमा कार्यक्रममा सहभागिता जनाएका पाहुनालाई तातो तातो भक्का खुवाउने उद्देश्यका साथ भक्का आनन्द सेवा संचालन गरिएको मारवाडी युवा मञ्च विराटनगरका महासचिव धिरज शर्माले बताए ।

नेपाली मारवाडी युवा दिवसमा सर्वसाधारणलाई सहयोग गर्ने उद्देश्यका साथ मारवाडी युवा मञ्च विराटनगरले ५० जनालाई झुल वितरण गरेका थिए । विराटनगरको मेनरोड स्थित जैन स्वेताम्बर तेरापंथ सभा भवन अगाडि आयोजित कार्यक्रममा नेपाल मारवाडी युवा संगठनका संस्थापक केन्द्रीय अध्यक्ष सुरेन्द्र गोल्छा, संस्थापक केन्द्रीय उपाध्यक्ष नन्दकिशोर राठी, संगठनका केन्द्रीय उपाध्यक्ष गोपाल अग्रवाल, संगठनका केन्द्रीय सचिव एवं मारवाडी युवा मञ्च विराटनगरका कार्यवाहक अध्यक्ष मोहित लालवानी, संगठनका केन्द्रीय सदस्य जय शर्मा, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका केन्द्रीय सचिव अमिता पेडिवाल, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, जैन स्वेताम्बर तेरापंथ सभा विराटनगरका अध्यक्ष सतिश दुगढ, मारवाडी युवा मञ्च विराटनगरका पूर्व अध्यक्ष शिवरतन जोशी, राजेश लखोटिया र शेरसिंह दुगढ, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष सरिता लालवानी, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दिपक चापागाईँ, नेपाली कांग्रेसका युवा नेता कृष्ण कार्की र समाजसेवी पवन सुरानाको सहभागिता रहेको थियो ।