- ब्रह्मदेव यादव, विराटनगर ६१३ पटक हेरिएको
मंगलबार, पुष १६, २०८१ समय : १७:०६:२९ , ३ दिन अगाडि
३० करोड भन्दा बढी रकम ठगी गरेका विराटनगरका आनन्द मोहन झा मोरङ प्रहरीको अनुसन्धानको दायरा बाहिर छ । मोरङ जिल्लाका ४६ जना सर्वसाधारण सँग ३० करोड भन्दा बढी रकम ठगी गरेका झा खुलेआम विराटनगरमा ठगी धन्दा सञ्चालन गरिरहेका छन् ।
विराटनगरका श्यामदेव साह र मोरङ रंगेलीका मो. रफिक आलमले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर झाले आफुहरु सँग १ करोड ७३ लाख रुपैयाँ ठगी गरेको बताए । विराटनगर–५ का युवा उद्यमी श्यामदेव साहले पत्रकार सम्मेलनमा भने: मैले झालाई ४ दिनका लागि १ करोड १४ लाख रुपैयाँ सापटी दिएको थिए ।
जसमध्ये १४ लाख रुपैयाँ फिर्ता पाएको र बाँकी १ करोड रुपैयाँ ठगी भएको बताए । साहले २०८० माघ ८ गते झालाई बैंक मार्फत १ करोड १४ लाख रुपैयाँ ट्रान्सफर गरेका थिए । पछि रकम असुलीका लागि कानुनी प्रक्रियामा रहेकै बेला १४ लाख रुपैयाँ फिर्ता पाएको बताए । बाँकी १ करोड र ब्याज रकम फिर्ता गर्न झाले आनाकानी गरिरहेको बताए ।
रकम माग्दा पहिला पनि झाले २०८१ साउन १७ गते विराटनगर–५, चाँदनी चौक स्थित होटल पासामा बोलाएर सावर दास, विनोद रोय र जमिर मिया मार्फत ज्यान मार्ने गरी कुटपिट गराएको भए पनि मोरङ प्रहरी झालाई पक्राउ गरेर कारबाही गर्न नमानेको साहले बताए । यतिखेर पनि झाले ज्यान मार्ने धम्की दिइरहेकोले रकम फिर्ता लिन कानुनी बाटो अविलम्ब गर्न नसकेको साहले गुनासो गरे ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको रोहबरमा झाले ब्याज सहित रकम फिर्ता गर्ने कागजात गरे पनि झाले रकम नदिएको पीडित साहले बताए । रंगेली–३ का मो. रफिक आलमले श्रीमती बीबी हविता खातुनको नाममा रहेको ७३ लाख रुपैयाँको जग्गा झाले ठगी गरेको बताए ।
श्यामदेव साह र मो. रफिक आलम मात्रै होइन मोरङ जिल्लाका ४६ जना सर्वसाधारण सँग झाले ३० करोड रुपैयाँ ठगी गरेको पीडित पक्षको भनाई छ । झाले गरेको ठगीको विरुद्ध मोरङ प्रहरीमा उजुरी परेको छ । तर मोरङ प्रहरी झालाई पक्राउ गरेर सर्वसाधारणको रकम असुली उपर गराउने पक्षमा नरहेको पीडित पक्षको गुनासो छ ।
झा जग्गा कारोबारी हुन् । उनको विराटनगरका सुन व्यवसायी सँग उठबस हुने गरेको छ । अवैध सुन ओसार पोसारको धन्दामा संलग्न झा सँग प्रहरीको समेत उठबस हुने गरेको छ । मोरङ प्रहरीका उच्चपदस्थ प्रहरी अधिकृतहरूले सर्वसाधारणको ठगी रकम बारे आउने गरेको उजुरीमा तोक लगाउँदै तल्लो तहका प्रहरी अधिकृतको मोबाइल नम्बर दिएर भेट्नु भनेर पठाउने गरेका छन् । तर तल्लो तहका प्रहरी अधिकृतको झा सँग उठबस रहेको थाहा पाउँदा ठगी भएको रकम फिर्ता नहुने होकी भन्ने चिन्तामा डुबेका छन् ।