- ब्रह्मदेव यादव, विराटनगर २६५ पटक हेरिएको
सोमबार, पुष १५, २०८१ समय : १६:४१:४१ , ३ दिन अगाडि
विराटनगरमा बसोबास गरिरहेका ४ सय भन्दा बढी घर घुरिले सोमबार तमु ल्होसार पर्व मनाएका छन् । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद विराटनगर महानगर इकाई कमिटीले सोमबार विराटनगर–७ स्थित हाटखोलाको हरियाली पार्कमा २६०८औं तमु ल्होसार २०८१ को आयोजना गरेका थिए ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, बुढिगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साह, धनपालथान गाउँपालिकाका अध्यक्ष जिवछ मण्डल गनगाई र नेपाल आदिवासी जनजाति महासंघ विराटनगर महानगर समितिका अध्यक्ष सुरेश सिंह गनगाई अतिथिको रूपमा कार्यक्रममा सहभागी थिए ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद विराटनगर महानगर इकाई कमिटीका अध्यक्ष कविमान गुरुङ, वरिष्ठ उपाध्यक्ष विश्व गुरुङ, उपाध्यक्ष श्यामकुमार गुरुङ, सचिव राजेश गुरुङ, कोषाध्यक्ष चित्रा गुरुङ सहित इकाई कमिटीका सदस्यहरूले अतिथिहरूलाई स्वागत तथा सम्मान गरेका थिए ।
आमा समूहका सचिव एवं विराट व्यापार संघका कोषाध्यक्ष सोनु गुरुङले अतिथिहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा १८ जातिका अध्यक्ष पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थिए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला सहित अतिथिहरूले परेवा उडाएर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद विराटनगर महानगर इकाई कमिटीले तुम ल्होसारको पूर्व सन्ध्यामा ४ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरेका थिए । ४ दिनको अवधिमा आयोजना गरिएको म्याराथन दौड प्रतियोगितामा सहभागी पुरुष र महिला तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई सोमबार ३ हजार १ सय, २ हजार १ सय र १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्रदान गरेका थिए । सरकारले तुम ल्होसार पर्वको अवसरमा सोमबार सरकारी बिदाको घोषणा गरेका छन् ।