- ब्रह्ममदेव यादव, विराटनगर ३८६ पटक हेरिएको
शनिबार, पुष १३, २०८१ समय : २०:३१:०९ , ५ दिन अगाडि
ललिता जाजु अध्यक्ष रहेको माहेश्वरी महिला मञ्च विराटनगरले शनिवार ३ सय ३ जना सर्वसाधारणको निःशुल्क रूपमा आँखा परीक्षण गराइ दिएका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले रामलाल गोल्छा आँखा अस्पताल सँग सहकार्य गरेर विराटनगर महानगरपालिकाको वडा नं. ६ स्थित श्री जनचेतना आधारभूत विद्यालयमा निःशुल्क आँखा परीक्षण र निःशुल्क मोतिया बिन्दु शल्यक्रिया शिविरको आयोजना गरेका थिए ।
निःशुल्क शिविर मार्फत ३ सय ३ जनाले आँखाको परीक्षण गराएका थिए । जस मध्ये ७६ जनाको आँखामा मोतिया बिन्दु रोग फेला परेकोले उनीहरूलाई रामलाल गोल्छा आँखा अस्पतालमा शल्यक्रिया गराइदिने माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजुले बताइन ।
कार्यक्रममा सहभागिता जनाएको कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले आफूलाई कार्यक्रममा प्रमुख अतिथि बनाइएको निमन्त्रणा पत्र मात्रै पठाइएकोले आगामी दिनमा सरकारसँग सहकार्य गरेर यस्ता किसिमको शिविरको आयोजना गर्न आयोजक संस्था माहेश्वरी महिला मञ्च विराटनगरलाई सुझाव दिए ।
कार्यक्रम आयोजक संस्था माहेश्वरी महिला मञ्च विराटनगरप्रति गुनासो गर्दै मन्त्री राईले भने– कम्तीमा शिविर आयोजना बारे पहिला नै जानकारी गराएको भए कोशी प्रदेश सरकार दक्ष प्राविधिक सहित औषधि वितरण व्यवस्थापनमा सहयोग गर्ने धारणा व्यक्त गरेका थिए ।
माहेश्वरी समाज विराटनगरका अध्यक्ष समाजसेवी एवं उद्योगी घनश्याम काबरा, समाजका सल्लाहकार समाजसेवी एवं उद्योगी चम्पालाल राठी, नेपाल माहेश्वरी परिषद्का केन्द्रीय उपाध्यक्ष एवं उद्योगी आनन्द जाजु, रामलाल गोल्छा आँखा अस्पतालका प्रबन्धक नविनचन्द्र सिंह राजवंशी र विराटनगर–६ का वडाध्यक्ष हरिशचन्द्र सहनी (अक्षय) ले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।