अग्रभागवत कथाबाट समाजको उत्पत्तिबारे इतिहास बुझ्दै अग्रवाल समुदाय

  • ब्रह्मदेव यादव, विराटनगर ४९६  पटक हेरिएको

शुक्रबार, पुष १२, २०८१ समय : १५:३०:२९ , २२ घन्टा अगाडि

विराटनगरमा वाचन भइरहेको अग्रभागवत कथाबाट अग्रवाल समुदायले समाजको उत्पत्तिबारे इतिहास बुझ्ने अवसर प्राप्त गरेका छन् । नेपाल अग्रवाल महिला मञ्च विराटनगरले पुस ११ देखि १३ गतेसम्म विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा समाजको उत्पत्तिबारे बुझ्न अग्रभागवत कथाको  आयोजना गरेका छन् । भारतको महाराष्ट्र राज्य स्थित मुम्बईबाट आएका अग्रभागवत वक्ता उज्जवल जी गर्गले अग्रभागवत कथा वाचन गरिरहेका छन् ।

अग्रवाल समाजको ५ हजार वर्ष भन्दा पुरानो इतिहास छ । ५ हजार वर्ष अघि भारतमा जैमिनी ऋषिले गाछीको छाला अर्थात् भोजपत्रमा अग्रवाल समाजको उत्पत्तिबारे लेखिएको पुस्तकमा उल्लेख गरिएको छ । पानीमा भिजाएपछि मात्रै पढ्न सकिने ५० ग्राम वजनको भोजपत्र पुस्तक भारतको उत्तराञ्चल राज्यमा श्रीराम गोपाल वेदिले वि.सं. २०४८ सालमा फेला पारेका थिए ।

संस्कृतिमा लेखिएको भोजपत्र पुस्तकलाई श्रीराम गोपाल वेदिले हिन्दी भाषामा अनुवाद गरेर पुस्तक प्रकाशन गरेका थिए । पछि विराटनगरका वरिष्ठ साहित्यका लक्ष्मण नेवटियाले २०७५ सालमा हिन्दी भाषाबाट नेपाली भाषामा अनुवाद गरेर पुस्तक प्रकाशन गरेका छन् । त्यही पुस्तकमा उल्लेख गरिएको अग्रवाल समाजको उत्पत्तिबारे अग्रभागवत वक्ता उज्जवल जी गर्गले अग्रभागवत कथा वाचन गरिरहेका छन् ।

जुन अग्रभागवत कथा सुन्न विराटनगर सहित नेपाल र भारतको विभिन्न ठाउँबाट अग्रवाल समाजका व्यक्ति आइरहेका छन् । नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष एवं युवा उद्यमी राजकुमार अग्रवालले महाराज अग्रसेनका सन्तान अग्रवाल समाजको उत्पत्ति कसरी भयो, हामी कस्का सन्तान हौ र हाम्रो समाजको भाषा संस्कृति बुझ्न युवा पुस्तालाई अग्रभागवत कथा सुन्नै पर्ने आवश्यकता रहेको बताए ।

नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवालले समाजको उत्पत्तिदेखि भाषा र संस्कृति बारे जानकारी राख्ने इच्छुक युवा पुस्ता अग्रभागवत कथा सुन्न इच्छुक रहेको बताए । नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष उमा चौधरीले अग्रभागवत कथा सुन्न समाजका सबै उमेर समूहका व्यक्तिहरू बाक्लो संख्यामा उपस्थिति देखेर आफू उत्साहित भएको बताइन ।

नेपाल अग्रवाल महिला मञ्च विराटनगरले आयोजना गरेको अग्रभागवत कथालाई भव्य एवं सभ्य रूपमा सम्पन्न गर्न नेपाल अग्रवाल सभा विराटनगर, नेपाल अग्रवाल युवा मञ्च विराटनगर र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरले सल्लाहकार संस्थाको रूपमा काम गरिरहेका छन् ।