विराटनगरमा आद्य महालक्ष्मी यज्ञ एवं अग्रभागवत कथा सुरु

  • ब्रह्मदेव यादव, विराटनगर ६२६  पटक हेरिएको

बिहिबार, पुष ११, २०८१ समय : १४:५४:५८ , १५ घन्टा अगाडि

बिहीबारदेखि विराटनगरमा आद्य महालक्ष्मी यज्ञ एवं अग्रभागवत कथा सुरु भएको छ । अग्रवाल समुदायको उत्पतिबारे जानकारी गराउने उद्देश्यका साथ आद्य महालक्ष्मी यज्ञ एवं अग्रभागवत कथा सुरु गरिएको छ । विराटनगरको सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा विहीवारदेखि सुरु भएको आद्य महालक्ष्मी यज्ञ एवं अग्रभागवत कथाको शनिवार समापन हुनेछ ।

भारतको मुम्बईबाट आएका अग्रभागवत वक्ता उज्जवल जी गर्गले अग्रभागवत कथा वाचन गरिरहनु भएको छ । नेपाल अग्रवाल महिला मञ्च विराटनगरको आयोजनामा भइरहेको आद्य महालक्ष्मी यज्ञ एवं अग्रभागवत कथा वाचनलाई भव्य रूपमा सम्पन्न गर्न नेपाल अग्रवाल सभा विराटनगर, नेपाल अग्रवाल युवा मञ्च विराटनगर र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरले सल्लाहकार संस्थाको रूपमा काम गरिरहनु भएको छ ।

अग्रभागवत कथा सुरु हुन भन्दा अघि बिहीबार बिहान विराटनगरमा अग्रवाल समुदायले धार्मिक र्‍याली निकालेका थिए । विराटनगरको मेनरोड स्थित श्री सत्यनारायण मन्दिरबाट निस्केको धार्मिक र्‍याली अग्रभागवत कथा वाचन स्थल सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा पुगेर समापन भएको थियो ।

नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, नेपाल अग्रवाल युवा मञ्च विराटनगरका अध्यक्ष चेतन अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष उमा चौधरी र नेपाल अग्रवाल कन्या मञ्च विराटनगरका प्रतिनिधि मनिशा अग्रवालले नेपालमा पहिलोपटक आयोजना गरिएको अग्रवाल समुदायको उत्पतिबारे वाचन भइरहेको अग्रभागवत कथालाई भव्य रूपमा सम्पन्न गर्न जोडतोडका साथ काम गरिरहेका छन् ।