- ब्रह्मदेव यादव, विराटनगर ३५७ पटक हेरिएको
बुधबार, पुष १०, २०८१ समय : १४:२३:४७ , २ दिन अगाडि
नेपाल पत्रकार महासंघ मोरङ शाखाका नवनिर्वाचित अध्यक्ष सुशीला पाठकको बुधवारदेखि कार्यकाल सुरु भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको इतिहासमा अध्यक्ष पाठक पहिलो महिला पत्रकार हो ।
यस अघि नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षको कुर्सीमा महिला पुग्न सकेको थिएन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको हातबाट बुधवार प्रमाणपत्र ग्रहण गरे लगत्तै पाठकले काम सुरु गरेका छन् ।
नवनिर्वाचित पदाधिकारीहरूको बुधवार नै पहिलो बैठक बसेर कामको शुभारम्भ गरेका छन् । उपाध्यक्षमा निर्वाचित सन्तोष सिग्देल, महिला उपाध्यक्ष तारा आचार्य र बिनु तिम्सिना, सचिव नेत्र पी अधिकारी, सहसचिव श्यामसुन्दर सुतिहार र रेवतीरमण निरौला, कोषाध्यक्ष कौशल निरौला सहित कार्यसमितिका निर्वाचित सदस्यहरू प्रमाणपत्र ग्रहण गरेर पदस्थापन गरेका छन् ।
सदस्यता पाएको १५ दिन भित्र विद्रोही उम्मेदवारी दिएर विजयी प्राप्त गरेका मकालु टेलिभिजनका युवा पत्रकार सुनिल यादवले नेपाल पत्रकार महासंघ मोरङ शाखामा नयाँ रेकर्ड कायम गरेका छन् ।
महिला उपाध्यक्षमा बराबरी मत ल्याएर बिजय प्राप्त गरेका तारा आचार्य र बिनु तिम्सिनाले डेढ–डेढ वर्ष कार्यकाल बिताउने सहमति गरेका छन् । बुधवारदेखि डेढ वर्षका लागि तारा आचार्यको कार्यकाल सुरु भएको छ ।