आन्तरिक राजश्व कार्यालय विराटनगरद्वारा १२० प्रतिशतले राजश्व संकलन

  • ब्रह्मदेव यादव, विराटनगर ७४३  पटक हेरिएको

सोमबार, पुष ०८, २०८१ समय : १६:५३:०८ , ४ दिन अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८१/०८२ को मंसिर महिनामा १२० प्रतिशतले राजश्व संकलन गरेका छन् । मंसिर महिनामा ५५ करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएको आन्तरिक राजश्व कार्यालय विराटनगरले ६६ करोड ४२ लाख रुपैयाँ राजश्व संकलन भएको प्रमुख कर अधिकृत भुपालराज शाक्यले बताए ।

कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ५ महिना (साउनदेखि मंसिर) मा ३ अर्ब २२ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य पाएकोमा २ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् । जुन लक्ष्यको तुलनामा ८९ प्रतिशतले राजश्व संकलन भएको हो । कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को ५ महिना (साउनदेखि मंसिर) मा २ अर्ब ६५ करोड रुपैयाँ राजश्व संकलन गरेकोमा आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ८८ करोड रुपैयाँ राजश्व संकलन गरेका छन् ।

कार्यालयले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ५ महिनामा २३ करोड रुपैयाँ बढी राजश्व संकलन गरेका छन् । जुन ९ प्रतिशतले राजश्व असुलीमा वृद्धि भएको हो । आन्तरिक राजश्व कार्यालय विराटनगरले आय कर, मूल्य अभिवृद्धि कर र अन्तशुल्क कर शीर्षकमा राजश्व असुली गर्ने अख्तियारी प्राप्त निकाय हो ।

आन्तरिक राजश्व कार्यालय विराटनगरमा आयकर तर्फ ७५ हजार, मूल्य अभिवृद्धि कर तर्फ ११ हजार ६ सय र अन्तशुल्क कर तर्फ ६ हजार करदाता रहेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत भुपालराज शाक्यले कार्यालयका कर अधिकृत र कर्मचारीको कडा मेहनत र लगनशिलताका कारण उत्साहजनक रूपमा कर संकलन भइरहेको बताए ।