विराटनगरको अरनिको कलेजका शाह र आचार्यलाई उत्कृष्ट विद्यार्थी पुरस्कार

  • ब्रह्मदेव यादव, विराटनगर ४५८  पटक हेरिएको

बिहिबार, पुष ०४, २०८१ समय : १६:०३:४२ , २ दिन अगाडि

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले विराटनगरस्थित अरनिको कलेजका दुई जना विद्यार्थीलाई उत्कृष्ट विद्यार्थी सम्मान २०८१ प्रदान गरेको छ । विराटनगर स्थित अरनिको कलेजबाट विज्ञान संकायतर्फ कक्षा १२ को अध्ययन पुरा गरेका राकेशकुमार साह र तेजश्वी आचार्यलाई प्रतिष्ठानले उत्कृष्ट विद्यार्थी सम्मान प्रदान गरेको हो ।

कोशी प्रदेशबाट कक्षा १२ को विज्ञान संकायतर्फ उत्कृष्ट नतिजा ल्याउन सफल शाह र आचार्यलाई प्रतिष्ठानले विहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नगद सहित उत्कृष्ट विद्यार्थी पुरस्कार प्रदान गरेको हो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवं उपकुलपति विद्या भट्टराई र प्रतिष्ठानका उपकुलपति दिलीप सुब्बाले हस्ताक्षर गरेको उत्कृष्ट विद्यार्थी पुरस्कार प्रमाणपत्र, कलेजका प्रिन्सिपल राजेश कार्की र विद्यार्थी तेजस्वी आचार्यलाई प्रदान गरिएको छ ।

शाह अध्ययनको क्रममा नेपाल बाहिर रहेकोले उनको पुरस्कार कलेजका प्रिन्सिपल कार्कीले बुझेका थिए । विराटनगरको अरनिको कलेज विज्ञान संकायतर्फ कोशी प्रदेशकै उत्कृष्ट कलेज हो । कलेजमा अध्ययन गरेका विद्यार्थी शाह र आचार्यले देशभरिका कलेजको तुलनामा ३.९६ जिपिए ल्याउन सफल भएका छन् ।