- चिरफार डटकम, विराटनगर ३७० पटक हेरिएको
बिहिबार, पुष ०४, २०८१ समय : १३:१८:३२ , २ दिन अगाडि
नेपाल पत्रकार महासंघ मोरङ शाखाको उपाध्यक्ष पदमा तारा आचार्य र बिनु तिम्सिनाले डेढ–डेढ वर्ष कार्यकाल बिताउने सहमति गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाको भर्खरै सम्पन्न निर्वाचनबाट उपाध्यक्ष पदका लागि आचार्य र तिम्सिनाले बराबरी मत प्राप्त गरेका थिए । ८२/८२ बराबरी मत प्राप्त गरेका आचार्य र तिम्सिनाले गोलाप्रथाबाट विजय निकाल्ने प्रक्रियामा नगई आधा–आधा कार्यकाल बाँड्ने सहमति गरेका थिए ।
नेपाल पत्रकार महासंघ मोरङ शाखामा बिहीबार भएको छलफलमा सुरुमा आचार्यले डेढ वर्ष र पछि तिम्सिनाले डेढ वर्ष कार्यकाल बिताउने सहमति गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङ शाखामा अब डेढ वर्षसम्म आचार्यले उपाध्यक्ष पदमा रहने छन् । आचार्य मोरङ शाखाको अघिल्लो कार्यकालमा उपाध्यक्ष पदमा निर्वाचित भएर कार्यवाहक अध्यक्षको हैसियतमा काम गरिसकेकी छिन् ।
आचार्य न्युज २४ टेलिभिजन च्यानलमा विराटनगर समाचार दाताको रूपमा कार्यरत रहेकी छिन् । तिम्सिना यस अघि महासंघ कोशी प्रदेश समितिमा सदस्यको रूपमा काम गरिसकेकी छिन् । तिम्सिना नेपाल टेलिभिजनको कोशी प्रदेश प्रादेशिक कार्यालयमा समाचार दाताको रूपमा कार्यरत रहेकी छिन् ।
नेपाल पत्रकार महासंघ मोरङ शाखामा यस अघि सुशिला पाठक र इन्दिरा भट्टराईले बराबरी मत ल्याएर आधा–आधा कार्यकाल काम गरेका थिए । बिहीबार चिरफार डटकम सँग कुरा गर्दै नवनिर्वाचित उपाध्यक्षद्वय आचार्य र तिम्सिनाले आफूहरू ३ वर्षकै लागि निर्वाचित भएपनि डेढ–डेढ वर्ष कार्यकाल बाँड्ने सहमति गरेको बताए ।