- ब्रह्मदेव यादव, विराटनगर २५८ पटक हेरिएको
सोमबार, पुष ०१, २०८१ समय : १२:३८:५६ , २ दिन अगाडि
विराटनगरमा सोमबारदेखि दुई दिने महानगर रोजगार मेला सुरु भएको छ । वैदेशिक पलायनलाई केही हदसम्म रोक्नको लागि आयोजना गरिएको रोजगार मेलाको मंगलबार समापन हुनेछ । विराटनगर महानगरपालिकाले बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ महानगर रोजगार मेलाको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ३ सय जना भन्दा बढी बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने गरी महानगर रोजगार मेलाको आयोजना गरिएको बताए ।
मेयर कोइरालाले २०८० सालमा आयोजना गरिएको पहिलो महानगर रोजगार मेलाबाट १ सय ९७ जना युवा युवतीलाई रोजगार उपलब्ध गराइएको बताए । २०८१ मा ३ सय जना भन्दा बढी बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ महानगर अगाडि बढेको मेयर कोइरालाले बताए ।
विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीले रोजगार उपलब्ध गराउने निकाय र रोजगारको खोजीमा रहेका युवा युवतीलाई एउटै थलोमा राखेर महानगरले रोजगारीका लागि पुलको काम गरेको बताए । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले नेपालमा दक्ष प्राविधिक नहुँदा भारतबाट दक्ष प्राविधिक भित्र्याउनु परेको बताए ।
विराट व्यापार संघको उपाध्यक्ष शरद श्रेष्ठले बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराउने कार्यमा विराट व्यापार संघ लागिपरेको बताए । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले घरेलु तथा साना उद्योगमा बेरोजगार युवा युवतीलाई रोजगार उपलब्ध गराई रहेको बताए ।
महानगर रोजगार मेलामा विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली सहित महानगर पालिकाका वडा अध्यक्ष र कर्मचारीहरूको उपस्थित रहेको थियो । विराटनगर महानगरपालिकाले वडा नं. ७ स्थित विरेन्द्र सभा गृहको दक्षिण तर्फ इको पार्कमा महानगर रोजगार मेलाको आयोजना गरिएको छ । जहाँ ३० भन्दा बढी स्टलबाट बेरोजगार युवा युवतीलाई चाहिएको रोजगारको बारेमा फारम भर्ने काम भइरहेको छ ।