- ब्रह्मदेव यादव, विराटनगर ६९२ पटक हेरिएको
आइतबार, मंसिर ३०, २०८१ समय : १४:५१:३७ , ३ दिन अगाडि
विराटनगर भन्सार कार्यालय माथि कर्मचारी सरुवा बिदाइमा भेदभाव गरेको आरोप लागेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालका विरुद्ध सरुवा भएका कर्मचारी माथि भेदभाव गरेको आरोप सहितको उजुरी भन्सार विभाग र अर्थ मन्त्रालयमा परेको छ । २०८१ असोजको अन्तिम साता अर्थात विजया दशमी अगाडि नै भन्सार विभागले सरुवा गरेका मध्ये केही कर्मचारी अहिलेसम्म विराटनगर भन्सार कार्यालयमा नै राखिराखेको भन्सार प्रमुख ढकाल माथि आरोप लागेको छ ।
भन्सार विभाग र अर्थ मन्त्रालयले विराटनगर भन्सार कार्यालयबाट सरुवा गरेका अधिकृत र नायव सुब्बाहरू सरुवा गरेको ठाउँमा हाजिर भएर काम गरिरहेका छन् । तर सरुवा भएका नायव सुब्बा यादवराज श्रेष्ठ अहिलेसम्म विराटनगर भन्सार कार्यालय मै काम गरिरहेका छन् । विराटनगर भन्सार कार्यालयबाट जाँच पास हुनु अगाडि मूल्याङ्कन शाखाबाट सामानको दर रेट कायम गरिन्छ ।
कुन सामानको कति मूल्य हो र सोही अनुपातमा कति भन्सार राजश्व तिर्नुपर्ने हो त्यसको लेखा जोखा मूल्याङ्कन शाखाबाट निर्धारण गरिन्छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले डेढ वर्षभन्दा बढी समयदेखि मूल्याङ्कन शाखामा नायव सुब्बा यादवराज श्रेष्ठलाई राखेर सामानको दर रेट अर्थात मूल्याङ्कन गराएर राजश्व असुली गरिरहेका छन् । भन्सार प्रमुख ढकाल नजिक रहेका सुब्बा श्रेष्ठलाई भन्सार विभागले सरुवा गरेको ठाउँ पठाउन आनाकानी गरिरहेका छन् ।
सुब्बा श्रेष्ठको सुनसरी स्थित कोशी ब्यारेज भन्सार कार्यालयमा सरुवा भएको छ । तर भन्सार प्रमुख ढकाल कुनै पनि हालतमा सुब्बा श्रेष्ठलाई सरुवा भएको ठाउँमा पठाउन मानिरहेका छैनन् । विराटनगर भन्सार कार्यालयबाट साप्टा सुविधाको कपडा आयात गरिरहेका भन्सार सहयोगी संजित भगतसँग सुब्बा श्रेष्ठको साठगाँठ रहेका छन् । भगतले १ वर्षमा झन्डै करोडौँ रुपैयाँ बराबरको साप्टा सुविधाको कपडा नेपाल भित्र्याई रहेका छन् । जसमा भन्सार प्रमुख ढकाल र सुब्बा श्रेष्ठको अवैध साठगाँठ रहेका छन् ।
भन्सार सहयोगी भगतको गाडी सुब्बा श्रेष्ठलाई चढ्न दिएका छन् । सुब्बा श्रेष्ठलाई जतिखेर आवश्यक पर्छ त्यतिखेर भगतले गाडी उपलब्ध गराउँछ । भगतले साप्टा सुविधाको कपडा आयात गर्दा भन्सार प्रमुख ढकाल र मूल्याङ्कनका सुब्बा श्रेष्ठले कागजात मिलानमा सहयोग गरेका कारण उनले आफ्नो गाडी सुब्बा श्रेष्ठलाई आवश्यक परेको बेलामा उपलब्ध गराई रहेका छन् । यस विषयमा भन्सार विभाग र अर्थ मन्त्रालयले छानबिन गरेर भन्सार प्रमुख ढकाल र सुब्बा श्रेष्ठलाई कारबाही गर्नुपर्ने आवाज उठ्न थालेका छन् ।