- ब्रह्मदेव यादव, विराटनगर ३९९ पटक हेरिएको
बिहिबार, मंसिर २७, २०८१ समय : १५:४३:४३ , ६ दिन अगाडि
विराटनगर महानगरपालिकाले पुस १ र २ गते रोजगार मेला २०८१ आयोजना गर्ने तयारी गरेको छ । बिहान १० बजेदेखि ४ बजेसम्म रोजगार मेला सञ्चालनमा रहने छ । र बेरोजगार युवा युवतीले आफुलाई चाहिएको रोजगारको बारेमा फारम भर्न पाउने छन् । महानगरपालिकाले वडा नं. ७ स्थित विरेन्द्र सभा गृहको दक्षिण तर्फ इको पार्कमा रोजगार मेलाको आयोजना गर्न लागिएको हो ।
मेयर नागेश कोइरालाले बिहीबार पत्रकार सम्मेलन गरेर रोजगार मेला २०८१ मा ३ सय १७ जनालाई रोजगार उपलब्ध गराउने लक्ष्य राखेको बताए । वैदेशिक पलायनलाई रोक्ने रोजगार मेलाको मुख्य लक्ष्य रहेको मेयर कोइरालाको भनाई छ । मेयर कोइरालाले २०८० मा आयोजना गरिएको पहिलो रोजगार मेलाबाट १ सय ९७ जनालाई रोजगार उपलब्ध गराइएको बताए ।
२०८० मा ३ हजार २ सय जना सर्वसाधारणले रोजगार मेलाको अवलोकन गरेका थिए । २०८१ मा ५ हजार भन्दा बढि सर्वसाधारणले रोजगार मेलाको अवलोकन गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले बताए । रोजगार मेला २०८१ मा ३० वटा स्टल रहेको ढुंगेलले बताए ।
विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट मार्फत नै रोजगार मेलाको नाममा १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । र त्यही रकमबाट बेरोजगारलाई रोजगार उपलब्ध गराउने उद्देश्यका साथ रोजगार मेलाको आयोजना गर्न लागिएको हो । महानगरपालिकाले उद्योगी एवं व्यापारिक प्रतिष्ठान, शिक्षा, स्वास्थ्य र होटेल तथा रेस्टुरेन्टमा बेरोजगार युवाहरूलाई रोजगार उपलब्ध गराउने छन् ।